काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जाजरकोट भूकम्पबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाको काममा जुट्न सबैलाई अपिल गरेको छ।
सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले आज एक विज्ञप्ति प्रकाशित गर्दै जाजरकोट भूकम्पबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाको काममा जुट्न आग्रह गरेको हुन्।
‘जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पका कारण ठूलो संख्यामा भएको मानवीय र भौतिक क्षतिप्रति राप्रपा दुःख प्रकट गर्दछ। विपद्को यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार, राहत तथा पुनःस्थापनाको काममा जुट्न सरकार, स्थानीय तह, राजनीतिक दल एवं विभिन्न संघसंस्थालाई राप्रपा अपिल गर्दछ। साथै, भूकम्प प्रभावित क्षेत्रमा गइ उद्धार कार्यमा संलग्न हुन राप्रपाका विभिन्न निकायलाई अनुरोध गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।
जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमलगायत पश्चिम नेपालको विभिन्न स्थानमा ठूलो संख्यामा भएको मानवीय र भौतिक क्षतिप्रति राप्रपाले दुःखसमेत प्रकट गरेको छ।