लुम्बिनी- भूकम्पले घर भत्काउँदा रोल्पामा एक बालक घाइते भएका छन्। रोल्पा नगरपालिका ८ जङकोटका झक्कु डाँगीका डेढ महिनाको बच्चा सामान्य घाइते भएका हुन्।
जाजरकोट केन्द्रबिन्दु बनाएर शुक्रबार राति ११ः४७ बजे गएको भूकम्पले लुम्बिनी प्रदेशमा मानवीय क्षति नभएको लुम्बिनी प्रदेश प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उमेराज जोशीले जानकारी दिए।
उनका अनुसार पहाडी जिल्लाहरु रोल्पा, रुकुममा केहि घर र विद्यालयका भवनहरु चर्केको भएपनि मानवीय क्षति छैन। ‘प्रहरी मार्फत १२ वटै जिल्लामा सम्पर्क गरेका छौं, हालसम्म अमानवीय र ठूलो भौतिक क्षतिको विवरण प्राप्त भएको छैन’ प्रहरी प्रमुख जोशीले भने।
रोल्पाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले एक जना बालक सामान्य घाइते भएको र अन्य मानवीय क्षति नभएको जानकारी दिए। उनका अनुसार जिल्लामा घर, विद्यालय भवन र केही कार्यालयका भवनहरु चर्केको छ।
‘कुनाकाप्चामा कतै केही क्षति छ की भनेर सूचना संकलन गरिरहेका छौं’ प्रजिअ घिमिरेले भने। लुम्बिनी प्रदेशमा भूकम्पको धक्का महसुस भएको थियो।