
काठमाडौँ- संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रश्तावित राजदूत भरतराज पौड्यालउपर उजुरी आह्वान गरेको छ। बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले क्यानडाका लागि प्रश्तावित राजदूत पौड्यालउपर उजुरी आह्वान गरेको हो। उनीहरू उपयुक्त छैन भन्ने लागेमा १० दिनभित्र स्पष्ट आधार खोली समितिमा सूचना वा उजुरी दिन सकिनेछ।
उजुरीकर्ताले चाहेमा उनीहरूको नाम, थर र वतन गोप्य रहने समितिले बताएको छ। समितिको बैठकमा बोल्दै समितिका ज्येष्ठ सदस्य पशुपति समशेर जबराले प्रश्तावित राजदूत पदमा नियुक्तिका लागि सिफारिस व्यक्तिको बारेमा सर्वसाधारणलाई जानकारी दिने र प्रश्तावित पदका लागि अनुपयुक्त लागेमा सूचना प्रकाशित भएको मितिले सरकारी सञ्चारमाध्यमहरूमार्फत सूचना प्रकाशित गर्न प्रश्ताव गरे। सो प्रश्तावलाई समितिले सर्वसम्मतिले पारित गरेको छ।
समितिको बैठकमा ज्येष्ठ सदस्य सभापति जबराले भने, ‘प्रश्तावित पदमा नियुक्तिका लागि सिफारिस व्यक्तिको बारेमा सर्वसाधारणलाई जानकारी दिने र प्रश्तावित पदका लागि अनुपयुक्त लागेमा सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोलि समितिमा सूचना वा उजुरी दिन सरकारी सञ्चारमाध्यमहरूमार्फत सूचना प्रकाशित गर्न प्रश्ताव गर्दछु।’
उनले प्रश्तावित व्यक्तिको नियुक्तिको अनुपयुक्तताको सम्बन्धमा उजुरी माग गर्नेसम्बन्धी सूचना प्रकाशन एवं प्रशारण गर्न समिति सचिवलाई निर्देशन दिए। उजुरी आह्वानपछि प्रस्तावित राजदूतको संसदीय समितिमा सुनुवाइ हुनेछ। समितिले अनुमोदन गरेपछि राजदूत नियुक्त हुनेछन्।