इटहरी- विराटनगर ६ स्थितबाट स्रोत नखुलेको रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व विशेष सुरक्षा योजनाअनुसार प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूहबाट परिचालन भएको प्रहरी टोलीले विराटनगर ६ शनि मन्दिर स्थितबाट १६ वर्षीय बालकले पछाडि भिर्ने कालो झोलामा ल्याउँदै गरेको अवस्थामा स्रोत नखुलेको २१ लाख ८७ हजार नेपाली रुपैयाँ नगदसहित पक्राउ गरेको हो।
स्रोत नखुलेको रकम नेपाली रुपैयाँ एक हजारको दरले १,६८७ थान र पाँच सय दरको एक हजार थानसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका उनको साथबाट प्रहरीले बलराम केसरीको नाममा रहेको कुमारी बैंक लिमिटेडको चेकबुक थान १, रञ्जित कुमार साहको नाममा रहेको एनआइसी एशिया बैँकको चेकमा उमेश कुमार भगतको नाममा ८६ हजार ८ काटिएको चेक थान १, ग्लोबल आईएमई बैँक लिमिटेडमा विभिन्न मितिमा १६ लाख ६९ हजार ५ सय रुपैयाँ जम्मा गरेको रसिद ४ थान र उनले प्रयोग गरेको प्रदेश १–०२–०४३ प ६२४१ नम्बरको पल्सर मोटरसाइकलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
स्रोत नखुलेको रकमसहित पक्राउ परेका उनको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको छ।