काठमाडौँ- चेतन मानन्धरको हत्या अभियोगमा जेल सजाय पाएका रिगल भनिने योगराज ढकालविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने भएको छ। मंगलबार हेर्दाहेर्दैमा रहेको रिटमा आज पनि सुनुवाइ हुने भएको हो।
कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासमा परेको रिटमा अब निरन्तर सुनुवाइ हुनेछ ।
चेतनको हत्यामा दोषी ठहर भएर सजाय काटिरहेका रिगललाई कैद मिनाहासहित रिहाइ गरेपछि आफ्ना पतिका हत्याराको कैद मिनाहाविरुद्ध भारती शेर्पाले गत असोज २२ मा सर्वोच्च रिट दायर गरेकी थिइन्।
यसअघि असोज २५ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहितको पूर्ण इजलासमा सुनुवाइ भएको रिटमा बहस जारी रहँदा महान्यायाधिवक्ता कार्यालयका सरकारी वकिलले प्रश्न उठाएपछि सुनुवाइ रोकिएको थियो।
यही प्रकारको मुद्दामा प्रधानन्यायाधीश श्रेष्ठले यसअघि महान्यायाधिवक्तालाई कैद मिनाहाको अधिकार रहेको भनी फैसला गरेको भन्दै प्रश्न उठाएपछि अर्कै पूर्ण इजलासमा सुनुवाइ हुने गरी मंगलबारको पेसी तोकिएको थियो ।