ताप्लेजुङ- आफ्ना कार्यकर्ता रिहाइ भएपछि पहिचान पक्षधरले मंगलबारदेखि सुरु गरेको बन्दसहित आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ।
स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच बुधबार साँझ बसेको छलफलमा दुई पक्षीय सहमति भएपछि आन्दोलन फिर्ता भएको हो।
गएको आइतबार एमाले सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईलाई कालो झन्डा देखाउने क्रममा पहिचान पक्षधरका कार्यकर्ता विपिन कङ्लिवा र आनन्द कङ्लिवा लिम्बूलाई प्रहरीले पक्राउ गरेको थियो ।
छलफलमा आन्दोलनका नाममा उच्छृंखला गतिविधि नगर्ने, कानुन तथा लोकतान्त्रिक पद्धतिलाई कार्यान्वयन गर्ने र पक्राउ परेकालाई विना सर्त रिहाइ गर्ने सहमतिपछि दुवै जनालाई बुधवार साँझ नै अर्थात् ७ बजेपछि रिहाइ गरिएको छ ।
आफ्ना कार्यकर्ता रिहाइ भएपछि तत्कालका लागि आन्दोलन स्थगित गर्दै कार्यक्रम फिर्ता लिएको पहिचान पक्षधर प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिका जिल्ला संयोजक डम्बरबहादुर पालुङवाले जानकारी दिए।
सहकर्मी पक्राउविरुद्धको आन्दोलनको कार्यक्रम फिर्ता भए पनि कोशी नामाकरणविरुद्धको आन्दोलन भने जारी रहेको पालुङवाले बताए।
प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले बुधवार साँझ नै प्रेस विज्ञप्ति प्रकाशित गर्दै पहिचानवादी योद्धाहरू रिहाइ भएपछि मेची राजमार्ग र ताप्लेजुङ बन्द फिर्ता लिएको उल्लेख गरिएको छ।
सहकर्मी पक्राउविरुद्ध पहिचान पक्षधरले मंगलबार मेची राजमार्गमा यातायात बन्द आह्वान गरेको थिए र बुधवार मेची राजमार्गको यातायात बन्द कायम राख्दै ताप्लेजुङ बन्द गराएका थिए।
दुई दिनसम्म यातायात बन्द र पछिल्लो दिन बुधवार सदरमुकाम फुङ्लिङ बजार बन्द हुँदा जनजीवन प्रभावित बनेको थियो। यात्रुले गन्तव्यमा जान पाएका थिएनन् भने उपभोक्ता तथा व्यापारीले सामान खरिद बिक्री गर्न पाएका थिएनन्।
यता फिर्ता भएपछि बिहीबार बिहानैदेखि यातायात खुलेको छ भने फुङ्लिङ बजार पनि खुलेको छ।