राप्रपा नेपालको निष्कर्ष : गणतन्त्र असफल, प्रदेश संरचना चाहिँदैन

हिमाल प्रेस ११ मंसिर २०८० १२:२५
70
SHARES
राप्रपा नेपालको निष्कर्ष : गणतन्त्र असफल, प्रदेश संरचना चाहिँदैन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले राष्ट्रवादी, देशभक्त र प्रजातन्त्रवादी दल र समूहबीच मोर्चाबन्दी गर्न आह्वान गरेको छ। केन्द्रीय कार्य सम्पादन समितिको सोमबार बसेको बैठकले संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्थाको अन्त्य चाहने, संवैधानिक राजसंस्था र हिन्दु राष्ट्र स्थापना गर्न चाहने, संघीयता खारेज गर्न चाहने, सुशासन र समृद्धि चाहने सबै एकताबद्ध हुनुपर्ने निष्कर्ष निकालेको हो।

बैठकले २०६३ सालको राजनीतिक परिवर्तनपछि नेपालका निम्ति संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र तथा सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र उपयुक्त हुन्छ भन्ने विचार बोक्ने दल राप्रपा नेपाल भएको दाबी गरेको छ।

यस्तै संविधानसभाले तयार गरेको संविधानको पहिलो मस्यौदामा ‘गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता अपरिवर्तनीय हुनेछ’ भन्ने लेखिएकोमा राप्रपा नेपालकै बलमा उक्त प्रावधान हटाई राष्ट्रिय अखण्डता, सार्वभौमिकता र जनतामा निहित सार्वभौमसत्ताबाहेक जनताको अभिमतबाट सबै बिषय परिवर्तन हुन सक्ने व्यवस्था कायम भएको राप्रपा नेपालको विज्ञप्तिमा जनाइएको छ।

पछिल्लो समयका राजावादी आन्दोलनले संघीय गणतन्त्रको नाउँमा कायम रहेको वर्तमान व्यवस्था असफल भएको पार्टीको निषकर्ष छ। संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र, सनातन हिन्दु राष्ट्र, सुदृढ स्थानीय स्वायत्त शासन तथा भ्रष्टाचारमुक्त सुशासन र समृद्धि जनताले खोजेको विकल्प भएको पार्टीले जनाएको छ।

संघीयताको वर्तमान स्वरुप परिवर्तन गरेर केन्द्रमा बलियो सरकार र स्थानीय तहमा अहिलेको भन्दा पनि बढी अधिकार सम्पन्न स्थानीय सरकार गरी दुई तहको सरकार कायम गर्नु उपयुक्त हुने प्रस्ताव बैठकले पारित गरेको छ। बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ, ‘देशको आर्थिक अवस्थाले धान्न नसक्ने तथा प्रयोजनविहीन प्रदेशतहको संरचना आवश्यक छैन’

संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको स्थापनाबाट कुनै पनि राजनीतिक दल, समूह वा नेताहरू चिन्तित र विचलित हुन नपर्ने आश्वासन राप्रपाले दिएको छ।

पार्टीको केन्द्रीय कार्य समितिको बैठक यही मंसिर २४ र २५ गते काठमाडौँमा बस्ने भएको छ। बैठकमा बृहत् राष्ट्रिय मोर्चा निर्माण र भाबी आन्दोलनको कार्ययोजना पेरिने राप्रपा नेपालले जनाएकाे छ।

राप्रपा नेपालको राजनीतिक प्रस्ताव 

१) २०६३ सालको राजनीतिक परिवर्तन पछि नेपालको निम्ति संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र तथा सर्वधर्म समभाव र पूणर् धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र उपयुक्त हुन्छ भन्ने विचार बोक्ने दल राप्रपा नेपाल मात्र थियो।

संविधानसभाले तयार गरेको संविधानको पहिलो मस्यौदामा “गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता अपरिवर्तनीय हुनेछ” भन्ने लेखिएकोमा राप्रपा नेपालकै बलमा उक्त प्रावधान हटाई राष्ट्रिय अखण्डता, सार्वभौमिकता र जनतामा निहित सार्वभौमसत्ताबाहेक जनताको अभिमतबाट सबै विषय परिवर्तन हुन सक्ने व्यवस्था कायम भएको हो । यो प्रावधानको कारण नेपाली जनताले चाहेमा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता समेत परिवर्तन गर्न पाउने अधिकार स्थापित भएको छ।

२) विगत केही समययता राजसंस्था र हिन्दु राष्ट्र स्थापना तथा संघीयताको खारेजीको पक्षमा सशक्त जनप्रदर्शनहरु भएका छन्। यी जनप्रदर्शनमा उर्लेको जनलहरले निम्नबमोजिम स्पष्ट सन्देश दिएको छ –

क) ‘संघीय गणतन्त्रको नाउँमा कायम वर्तमान व्यवस्था असफल भएको छ। विद्यमान भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट जनता मुक्ति चाहन्छन्। जनता विकल्पको खोजीमा छन्।

ख) संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र, सनातन हिन्दु राष्ट्र, सुदृढ स्थानीय स्वायत्त शासन तथा भ्रष्टाचारमुक्त सुशासन र समृद्धि जनताले खोजेको विकल्प हो।

३) विगतमा राजसंस्था र हिन्दु राष्ट्र स्थापना तथा संघीयता खारेजीको पक्षमा राप्रपा नेपाल मात्र रहेकोमा हाल विभिन्न दल र समुहहरु समेत यो बिचार र एजेण्डामा खडा हुनु खुसी र उत्साहको विषय हो। वर्तमान अवस्थामा समान बिचारधारा र एजेन्डा बोकेका शक्तिहरु विभाजित हुँदा स्वभाविकरुपले लक्ष्य प्राप्ति कठिन हुन्छ। त्यसर्थ वृहत राष्ट्रिय मोर्चा निर्माण वर्तमान समयको आवश्यकता हो।

४) संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको स्थापनाबाट कुनै पनि राजनीतिक दल, समुह वा नेताहरु चिन्तित र विचलित हुनु पर्दैन। राजसंस्थासहितको प्रजातन्त्रको अवधारणा निरंकुश शासन प्रणाली होइन। यो परिवर्तनकारी विचार र शक्ति तथा परम्परागत विचार र शक्ति बीच सामञ्जस्ताको मान्यता हो। यो राष्ट्र बचाउने र बनाउने राष्ट्रिय मेलमिलापको नीति हो। राजसंस्था स्थापित गरेर दल वा प्रजातन्त्र विस्थापित गर्ने वा कमजोर बनाउने होइन। जनसम्प्रभुताको मान्यताअनुरुप शासन जनताबाट निर्वाचित प्रतिनिधिले गर्ने र राजसंस्था अभिभावकका रुपमा रहने मान्यता नै राजासहितको प्रजातन्त्रको मूल मर्म हो।

हिन्दु राष्ट्र नेपालको संस्कृति, पहिचान र एकताको आधार हो। हिन्दु राष्ट्र सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रता र विभिन्न धर्मबीच सहकार्यको अवधारणा हो। तसर्थ हिन्दु राष्ट्र कायम हुँदा सबै धर्मको अस्तित्व र सहकार्यको वातावरण सुनिश्चित हुन्छ।

संघीयताको वर्तमान स्वरुप परिवर्तन गरेर केन्द्रमा बलियो सरकार र स्थानीयतहमा अहिलेको भन्दा पनि बढी अधिकार सम्पन्न स्थानीय सरकार गरी दुई तहको सरकार कायम गर्नु उपयुक्त हुन्छ। देशको आर्थिक अवस्थाले धान्न नसक्ने तथा प्रयोजनविहीन प्रदेशतहको संरचना आवश्यक छैन।

उपरोक्त मान्यता राष्ट्र र जनताको बृहत्तर हितमा हुन्छ। यसले प्रजातन्त्र बलियो बनाउँछ, शान्ति र स्थिरता कायम हुन्छ तथा आर्थिक समृद्धिको निम्ति अनुकूल वातावरण तयार गर्छ।

५) वर्तमान व्यवस्था असफल भएको तितो यथार्थ, देशको धरातलीय अवस्था र जनताको परिवर्तित चाहनाको सम्मान गर्दै सबै नेपाली अटाउने र सबैको पहिचान सुनिश्चित हुने नेपाली संस्करणको मौलिक प्रजातन्त्र स्थापना गर्ने कार्यमा सकारात्मक सहयोग गर्न तथा यथास्थितिबाट मुक्तिको जनचाहनालाई अवरोध र दमन नगर्न राप्रपा नेपाल सरकार र प्रमुख राजनीतिक दलहरुसँग आग्रह गर्दछ।

६) यो अभियानमा साथ, सहयोग र एक्यवद्धताको निम्ति राप्रपा नेपाल आम नेपाली जनतामा अपिल गर्दछ।

प्रकाशित: ११ मंसिर २०८० १२:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast