काठमाडौँ– मलेसियाका अधिकांश सहरका सबै गल्ली डुलेका छन् झापाको मेचीनगर नगरपालिका-६ का ३७ वर्षीय गोपाल घिमिरेले। केही समय त्यहाँको गाउँमा पनि बिताएका उनले मलेसियाका सानाठूला गरी ५१ वटा सहरमा समय बिताए।
रोजगारीमा गएका उनी झन्डै दुई दशकसम्म मलेसियामा हराए। विगत १० वर्षदेखि उनी कामविहीन भए। त्यसपछि परिवारको सम्पर्कमा आएका उनी गत शनिबार नेपाल फर्किएका छन्, त्यो पनि रित्तो हात। अर्को कुरा उनको उद्धारका लागि नेपाली जनसम्पर्क समितिले निकै पहल गर्नुपरेको थियो। लामो समय सम्पर्कमा नआउँदा उनका आमाबाबुले चिन्तैचिन्तामा समय बिताए।
गोपालले हिमाल प्रेससँगको कुराकानीमा भने, ‘आमाको माया र उनैको आशीर्वादले बाँचेर नेपाल फर्किएँ। नेपाल आउँछु जस्तो लागेकै थिएन।’ मलेसियाका गल्ली-गल्ली डुलेका गोपाललाई साथीभाइले ‘घुमैरे नेपाली’ भनेर बोलाउँथे। उनले मलेसियामा कुनकुन कम्पनीमा काम गरेँ भनेर सम्झन मुस्किल हुने बताए। गोपाल १० वर्षदेखि आम्दानी नभएपछि परिवारको सम्पर्कमा नआएका रहेछन्। गत शनिबार नेपाली जनसम्पर्क समितिले खोज तथा उद्धार सहयोगमा उनी घर फर्किएका छन्।
‘मलेसियामा १८ वर्ष बस्दा धेरै दु:ख पाएँ। कैयौँ रात सडकमा भोकै सुतेँ,’ उनले भने। मलेसियामा रोजगारी गर्दा पैसा कमाउन नसकेको उनी बताउँछन्। ‘मलेसियामा १८ वर्ष बस्दा ज्यादै दुःख र सास्ती सहेँ। विदेशमा रहँदा पैसा कमाउने सपना मात्र देखेँ,’ उनले भने।
२०६१ चैत ८ गते प्रोडक्सन अपरेटर कामका लागि श्रम अनुमतिपत्र पाएर उनी मलेसिया उडेका थिए। त्यति बेला आफू १९ वर्षको रहेको उनी बताउँछन्। मलेसिया पुगेको एक सातापछि गोपालमाथि गैरकानुनी कामदार भएको आरोप लाग्यो। यसपछि उनको वास्तविक अवस्थाबारे परिवार बेखबर बन्यो।
मलेसियाका सानाठूला गरी ५१ वटा सहरका ४० वटा कम्पनीमा काम गरेको उनले बताए। उनले भने, ‘नेपाल टेकेपछि म खुसी छु। अब स्वदेशमै खेती-किसानी गर्छु। विदेश जान्नँ।’
उनले पैसा नकमाएका भने हैनन्। तर अवैध बसेकाले पनि जोगाउन कठिन भएको रहेछ। उनले भने, ‘अवैध बसेका कारण अलि-अलि कमाइ पनि मलेसियान प्रहरीले लुटे।’ कोभिडका बेला त उनलाई दुई वर्षजति बस्न र खानै मुस्किल भएछ।
गोपालका घरमा १९ वर्षीय एक छोरा छन्। श्रीमतीले छाडेपछि उनी छोरालाई आमाको साथमा छोडेर वैदेशिक रोजगारीमा गएका थिए। उनी त्यहाँ अवैध भएर बसेपछि ‘नेपाली ग्याङ’ मा संलग्न भए। नेपाली ग्याङमा उनीजस्तै अवैध रूपमा बसोबास गरेका नेपालीहरू थिए। गोपाल पनि लुटपाट र चोरीका घटनामा संलग्न हुन्थे। सोही कारण उनी बेलाबेलामा प्रहरीको फन्दामा पर्दै आएका थिए।
उनी भन्छन्, ‘मलेसियामा १७ वर्ष अवैध भएर काम गरेँ। त्यस अवधिमा कैयौँपटक मलेसियन प्रहरीले लखेटे र लुटे। एउटा कम्पनीमा ६ महिनाभन्दा बढी बस्न सकिनँ।’ उनी तीन वर्ष त साथीसँग खर्च मागेर बसेछन्। एक वर्ष मलेसियाको एउटा गाउँमा यत्तिकै बसेको उनले सुनाए। त्यसपछि साथीको लैहलैहमा लागेर नेपाली ग्याङमा सामेल भएछन्। उनले भने, ‘दुई वर्षजति ग्याङमा हिँडेपछि मलेसिया प्रहरीले समाउँछ भनेर डर लाग्यो। अनि एउटा कम्पनीमा कोइला बोक्ने काम गर्न पुगेँ।’ उनले त्यहाँ ९ महिना काम गरेर बीचमै भागे। त्यसपछि राजधानी क्वालालम्पुरको एउटा होटलमा पाँच महिना काम गरेको उनले सुनाए।
उनी भन्छन्, ‘ठूलादेखि साना कम्पनीमा काम गरे पनि पैसा कमाउन नसकेपछि झन्डै पागलसमेत भएको थिएँ म।’ गोपालका अनुसार मलेसियामा उनीजसरी अवैध गरी बस्ने धेरै नेपाली छन्। त्यस्तै कतिपय नेपाली ‘ग्याङ’ मा सामेल भएर बसेका छन्। भनेजस्तो कमाइ नभएपछि उनीहरू स्वदेश फर्किन नसकेको गोपाल बताउँछन्। ‘कतिपयलाई साथीभाइले फर्किन दिँदैनन्। मलेसियामा विदेशी केटीसँग बिहे गरेका धेरै नेपाली फसेका छन्। मैलेचाँहिँ त्यस्तो गरिनँ,’ उनले भने।
‘छोरो सम्झिएर रोएँ’
१९ वर्षको उमेरमा रोजगारीका लागि मलेसिया पुगेका गोपाल घर फर्किँदा ३८ वर्षमा पुगेको आमा सानी गोपालले जानकारी दिइन्। गोपाल उनका बाबुआमाका एक्ला सन्तान हुन्। ‘एउटै मात्र छोरो रोजगारीमा मलेसिया गएको १० वर्षदेखि परिवारको सम्पर्कमा थिएन। १८ वर्षपछि फर्किएर आयो। धेरै खुसी छु। हरेक दिन छोरो आउने आसमा बसेकी थिएँ। बल्ल आयो,’ उनले भनिन्, ‘मलेसियामा हरेक दिन मान्छे मरे भनेको सुन्दा छोरो सम्झिएर रातभरि रुन्थेँ।’ अरूले मलेसियामा यस्तो-उस्तो भन्दा डर लाग्ने गरेको उनको भनाइ छ।
छोरालाई वैदेशिक रोजगारीमा पठाउन ऋण लिन घर बैंकमा धितोमा राखिएको थियो। ऋण तिर्न अझै बाँकी रहेको सानीले बताइन्। घरको आर्थिक स्रोतले खानसँगै घरखर्च धन्न मुस्किल भएपछि गोपाल वैदेशिक रोजगारीमा गएका थिए। गोपाल मलेसिया रोजगारीमा जाँदा १ लाख २० हजार रुपैयाँ खर्च भएको थियो। गोपालले त्यति पैसा पनि कमाएर नपठाएको सानीको गुनासो छ।
आमा सानीले छोरो खोजीका लागि सार्वजनिक अपिल गरेपछि गोपाललाई मलेसियाको नेपाली जनसम्पर्क समितिले खोज तथा उद्धार गरेर नेपाल पठाएको हो।
गैरकानुनी रूपमा मलेसियामा रहेका गोपाललाई स्वदेश फर्काउन हवाई टिकट र जरिबाना गरेर नेपाली एक लाख चार हजार एक सय ६० रुपैयाँ खर्च गरी समिति र मलेसियास्थित नेपाली दूतावासले पठाएको हो।