काठमाडौँ- प्रभुराम शर्माले नेपाली सेनाको कमान्ड लिएको दुई वर्ष नाघेको छ। शर्मा प्रधानसेनापति बन्दा नेपाली सेना पृतना प्रणालीबाट तीन जोड एक कमान्ड प्रणालीमा जाँदै थियो। उनी त्यसमा सन्तुष्ट थिएनन्। चेन अफ कमान्डका कारण उनी मौन रहे। तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापाले मातहतमा तयारीबिना नै आठ पृतनालाई तीन जोड एक कमान्ड प्रणालीमा लगेको घोषणा गरिदिए, त्यो पनि आफू सेवानिवृत्त हुनु केही साताअघि।
शर्मा प्रधानसेनापति हुनेबित्तिकै यो विषय मिलाउनैपर्ने थियो। आवश्यकता र औचित्यका आधारमा भन्दै मुलुकभर रहेका आठ पृतना खारेज गरेर २०७८ साउन १ बाट कार्यान्वयनमा ल्याएको तीन जोड एक कमान्डलाई प्रधानसेनापति शर्माले खारेज गरिदिए। उनको खारेजीलाई कतिपयले राम्रो भने अनि कतिपयले पहिल्यै किन राख्न दिएको भनेर आलोचना पनि गरे। मिश्रित प्रतिक्रिया आए पनि उनले लिएको निर्णय साच्चै ‘बोल्ड’ थियो।
अघिल्ला प्रधानसेनापतिले तयारी नगरी बोकाएको भारी शर्माले थप बोझिलो हुन दिएनन्। मुलुकको आर्थिक हैसियतसमेत बुझेर उनले सकारात्मक निर्णय लिए। किनभने तलदेखि सबै प्रक्रिया मिलाएर कमान्डमा जाँदा केन्द्र बराबर सबै कमान्ड उत्तिकै शक्तिशाली हुनुपर्छ।
त्यही समयमा शर्मा बिरामी परे। सोही बेलादेखि उनलाई सेनाभित्रै अशक्त बनाउँदै नयाँ प्रधानसेनापति तोक्ने तयारीसमेत भयो। कम बोल्ने तर बोलेपछि निर्णयमा पुग्ने बानी भएका शर्माले जंगीअड्डालाई पुरानै संरचनामा फर्काए पनि नयाँ लयमा ल्याए। २०७९ मंसिरको निर्वाचनको मुखमा सेना ‘ब्याक अन ट्रयाक’ भयो।
मुलुकमा निर्वाचन नजिकिँदै गर्दा त्यो निर्णयमा पुग्नुपर्ने अवस्थाले शर्मा केही दबाबमा थिए। तर पनि उनी पृतनामा फर्कनुपर्यो। शर्माको एउटै प्रश्न हुन्थ्यो, अघिल्ला सेनापतिले त्यो संरचनामा लैजान राम्रो थियो भने आफ्नो कार्यकाल सकिनै लाग्दा किन गरे? आफूले कार्यान्वयन गर्न नसक्ने भएपछि अर्कालाई भारी थपेर हिँडिदिने भन्ने तर्क पनि उठेको थियो।
अघिल्ला प्रधानसेनापति थापाको विगत पनि त्यस्तै थियो। उनी जहाँ रहन्थे त्यहाँ जाने नयाँलाई थप बोझ राखेर हिँडिदिने। त्यही व्यवहार उनले सैनिक नेतृत्वमा पनि गरेको बुझाइ भयो। अनि आर्थिक भारले पनि नथेग्ने अवस्था देखेपछि शर्माले पृतना संरचनामा फर्काएका हुन्।
शर्माले आफूले सेनाको नेतृत्व लिएपछि भारतको मानार्थ सेनापति बन्न नयाँदिल्ली गए। भारतमै रहेका बेला उपचार पनि गराए। अनि उनी थप सक्रिय भए। अमेरिका, बेलायत र चीनको भ्रमण पनि सके। अब उनी नेपाली सेनालाई शान्तिसेना तैनाथ गरिएको स्थानको निरीक्षणमा जानेछन्। साथै केही कूटनीतिक र सैन्य सम्बन्ध राम्रा भएका मुलुकमा पनि पुग्ने सोच राखेको शर्मा बताउँछन्। परराष्ट्र मन्त्रालयजस्तै नभए पनि उसलाई सहयोग हुने भूमिका नेपाली सेनाले पनि निर्वाह गर्दै आएको शर्माको बुझाइ छ। उनी आफैँ दूतावासमा मिलिटरी एटाचे भएर काम गरेका सैनिक अधिकारी हुन्।
शर्मालाई सेनामा कमान्ड प्रणाली भिराएर हिँडेझैँ अघिल्लो नेतृत्वले अर्को विषयमा पनि छलेको देखियो। त्यो थियो, छानबिन सबै सकिएको छ, नेपाली सेनामा अब ‘फेक डकुमेन्ट’ वाला अधिकृत छैनन्। शर्माको शान्त स्वभावको फाइदा नेतृत्वले मात्र होइन उनी प्रमुख भएपछि छेउछाउमा रहनेहरूले पनि लिएका छन्। उनका नातेदार पनि फाइदा लिनबाट पछि हटेको देखिँदैन। तर उनी यसमा गम्भीर छन्। सेनामा रथी खाली भएपछि सूचना निकाल्दा ताराध्वज पाण्डेको उमेर विवादलाई उनले सामान्य लिएका थिए। उनले सामान्य लिनुको कारण थियो, अघिल्लो नेतृत्वले सबै छानबिन गरिसकेको छ। तर वास्तविकता फरक रहेछ। रथीमा बढुवामा सिफारिस हुने सूचना जारी भएपछि पाण्डेको उमेर विवाद सतहमा आयो। अनि पुष्टि भयो, अघिल्लो नेतृत्वले त पाण्डेलाई सुनपानी छर्कने काम गरेको रहेछ।
अघिल्लो नेतृत्वले शर्मालाई एउटा काँडा छोडेर गएको देखियो। शर्मालाई त्यसबाट बचाउन मिडियाको प्रमुख भूमिका रह्यो। तर उनलाई आफ्नै मानिसले साथ दिएनन्। डुलुवा र भँडुवाहरू शर्माका वरपर रहिरहे। शर्मालाई जेसुकै होस, नेपाली सेनालाई पनि जेसुकै होस् भनेर उनीहरू आफ्नो स्वार्थमा सीमित रहे। जुन आफैँमा डरलाग्दो विषय हो। नेतृत्वका नाममा आफन्तले खेल्नु वा नेतृत्व नजिक भएको नाटक देखाएर अर्कोलाई सबै विषय सुनाउनु भनेको नेतृत्वलाई असफल पार्नु नै हो। शर्माको हकमा पनि त्यस्तै हुन खोजेको थियो तर उनी सतर्क रहेर त्यसलाई चिरेका छन्।
जसरी नेपाली सेनाले कमान्ड अवधारणासँगै खारेज भएका आठवटै पृतना पुनर्स्थापित गर्ने निर्णय गरेको थियो त्यसैगरी ताराध्वज पाण्डेको उमेर विवादमा छानबिन अघि बढाउने निर्णय भयो। जसले गर्दा पाण्डेले राजीनामा दिनुपरेको छ। उनकाे राजीनामा स्विकृत भएसँगै सेनामा नयाँ रौनक छ। बढुवा समितिले नयाँ नाम सिफारिसको तयारी छ। पहिला केही बहकिन खोजेको नेतृत्वले बिस्तारै सम्हालिएर सही निर्णय गरेको जंगीअड्डाका उच्च सैनिक अधिकारीहरू बताउँछन्।
सेनाको नेतृत्वले पाण्डेलाई राजीनामा दिन लगाएर अब नेतृत्वमा लैजाने वरिष्ठ उपरथी स्पष्ट पारिदिएको छ। वरिष्ठ उपरथी अशोकराज सिग्देलका विषयमा नाम चल्दा उनीमाथि बेनामे उजुरी परेका छन्। तर सेनाको नेतृत्व निश्चिन्त छ। बढुवा हुने रथीको सबै छानबिन सेनाभित्र भएर मात्र मन्त्रालयमा फाइल पठाउने हुनाले यसपटक अघिल्लो सिफारिस जस्तो नहुने बुझाइ सेनाभित्र छ। ‘सेनाभित्र छानबिन हुनु राम्रो कुरा हो। सेनाले पठाएको फाइल फर्किनु हुँदैन। रक्षा मन्त्रालयले सेनाको फाइल हेर्नै नपर्ने गरी आउँदा निकै राम्रो हुने सुझाव दिँदै आएको छ’, नेपाली सेनाका एक उच्च अधिकारी भन्छन्।
पहिले रक्षा मन्त्रालय जंगीअड्डाको अगाडि सामान्य थियो। तर अहिले रक्षा पनि सेनासँग पौँठेजोरी खेल्न सक्ने अवस्थामा छ। रक्षाले कैयन् फाइल फिर्ता पठाएर छानबिन गर्न लगाउँछ। उपरथीमा बढवाका लागि दुई पटक आएको फाइलसमेत फिर्ता गएकाले सेनाको साख गिर्दो छ। यसलाई जोगाउन सेनाले आफूलाई निपुण बनाउन आवश्यक हुन्छ। सेनाले कोटमार्सल गरेका व्यक्ति पनि बढुवामा सिफारिस गर्दा यस्तो भएको हो।
हुन त प्रधानसेनापति शर्माले आफू नेतृत्वमा आउनेबित्तिकै २०७८ भदौ २१ मा बसेको मन्त्रिपरिषद् बैठकले नेपाली सेनाको तीन जोड एक कमान्ड यथावत् राख्दै आठ एक्स पृतना पुनर्स्थापना गर्ने निर्णय गराएर आफू कमजोर सेनापति नभएको सन्देश दिएका थिए। अहिले पनि सेनाको बारेमा बाहिर अनेकन् कुरा चल्दा त्यसलाई मत्थर गर्न नेपाली सेनाको नेतृत्वले कुनै पनि पद खाली नराखी बाहिर प्रश्न नउठ्ने गरी अघि बढ्न आवश्यक छ।
नेपाली सेनाले आमनिर्वाचनको मुखमा तीन जोड एक खारेज गरेको भन्दै बाहिरबाट केही हिलो छ्याप्ने काम भए पनि सेनाभित्रको टिम तत्काल सक्रिय रहेर पृतनामा ढाल्यो। निर्वाचनमा सेनाले निर्वाह गरेको भूमिका प्रशंसनीय थियो। अब पनि त्यही कार्य हुन आवश्यक छ। सेनाको विवाद सतहमा आउनु हुँदैन।
सेनामा यतिबेला सुदूरपश्चिम पृतना, उत्तरपश्चिम पृतना, मध्यपश्चिम पृतना, पश्चिम पृतना, मध्य पृतना, मध्यपूर्वी पृतना र उपत्यका पृतना छ। जसले हरेक प्रदेशलाई नियालिरहेको छ। अवकाशप्राप्त प्रधानसेनापति थापाले कमान्ड अवधारणा आवश्यकता र औचित्यका आधारमा योजना बनाएर गर्नुपर्नेमा लोकरिझ्याइँका लागि गरेको देखिन्थ्यो। जुन विषय पछिल्लो नेतृत्वले खारेज गरेर सन्देश दिएको छ।
शर्माले सेनाभित्रै जुत्ता तयार गर्ने काम सुरु गरेका छन्। सेनाले आफूलाई चाहिने सबै बुट र प्रशिक्षणमा आवश्यक पर्ने जुत्ता पनि तयार गरिरहेको छ। शर्माले त्यो विषय बाहिर ल्याएनन्। प्रचार पनि गरेनन्। कपडा पनि नेपाली प्रयोग गर्ने भन्दै त्यसका लागि तयारी गरिरहेका छन्। तरकारी आफ्नै ब्यारेकमा उब्जाउ गर्ने जस्ता कार्य गरिरहेका छन्। सेनालाई चाहिने गोली र बारुद तयार भइरहेको छ।
‘एक्सप्रेस वे’लाई कसरी समयमा सक्ने भन्दै यसको ‘टनेल’ र ‘हाइराइज’ पुलहरूका बारेमा भएका गल्ती सुधार गर्दै अघि बढ्ने काम भएको छ। असजिलो काममा सेना सधैँ तयार रहने अवस्थालाई दृष्टिगत गर्दै सेनासँग विदेशबाट आउने भनिएको स्काई ट्रकलगायतमा पनि ताकेता भइरहेको छ। सम्बन्ध सुधारका लागि विदेशीसँग मिलिटरी कूटनीति पनि उत्तिकै अपनाउने काम भएको छ। फोर्स कमान्डरमा लगातार नेपाली सेनाले एक स्थानमा पकड जमाएको छ। शान्तिसेनामा संख्या थप्ने काम भएको छ। अधिकृतको दरबन्दी बढाइएको छ। यसले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सेनाको साख बढेको छ।
शान्ति सेना निर्देशनालयमा रहेर काम गरेका सैन्य अधिकारीमाथि छानबिन प्रक्रिया पनि अघि बढाइएको छ। त्यहाँ भएका भनिएको घोटालाका विषयमा छानबिन गर्दै लुट मच्चाउनेलाई कोर्टमार्सलसम्म गर्ने तयारी सेनाको छ। यस्तै कार्यले सेनाको खास बढ्ने हो। यो काममा शर्मा तल्लीन छन्। यस्तै छानबिन हुने डरले सेनाबाट अवकाश पाएकाहरू पनि आफू निकटकालाई अघि बढाउन चाहने हुनाले पनि केही समय शर्मा समस्यामा परेका थिए। तर अहिले उनी ‘ब्याक अन ट्र्याक’ मा रहेको सैन्य अधिकारीहरूको बुझाइ छ।