काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौँले दुर्गा प्रसाईको नागरिक बचाऊ अभियानअन्तर्गत आजदेखि घोषणा गरिएको आन्दोलनको थप कार्यक्रमप्रति ध्यानाकर्षण भएको जनाएको छ। तीनकुनेमा कार्यक्रम गर्ने अनुमति नभएको बताएको हो।
प्रसाईले हिजो साँझ पत्रकार सम्मेलन गरी आजदेखि हरेक दिन तीनकुनेमा भेला भएर सिंहदरबार र राजनीतिक दलका नेताका घर लक्षित ‘श्रीलंका स्टाइल’ मा आन्दोलन गर्ने उद्घोष गरेका थिए। उक्त ठाउँमा कार्यक्रमका लागि अनुमति नदिएको प्रशासनले प्रष्ट्याएको छ।
काठमाडौँ प्रशासनका सहायक प्रजिअ रवीन्द्रप्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी प्रचलित कानुनविपरीतका गतिविधि गरेमा कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ।
‘सुरक्षा निकायसँग समन्वय गरी कार्यक्रमलाई शान्तिपूर्ण, मर्यादित, अनुशासित एवं व्यवस्थित रूपमा सञ्चालन गर्ने सुनिश्चिततासहित लिखित रुपमा माग भई आएमा आयोजकसँगको समन्वयमा उपयुक्त स्थानमा कार्यक्रमस्थल उपलब्ध गराई सुरक्षा प्रदान गरिने गरेको र आगामी दिनमा समेत सोही बमोजिम हुने व्यहोरा अवगत गराइन्छ’, प्रशासनले भनेको छ।