खस्कियो अन्तर्राष्ट्रिय व्यापार

हिमाल प्रेस ८ मंसिर २०८० ७:३०
12
SHARES
खस्कियो अन्तर्राष्ट्रिय व्यापार महोत्तरीको मुख्य भन्सार नाका भिट्ठामोडमा भन्सार जाँचका लागि लामबद्ध मालवाहक ट्रक । तस्बिर : सञ्जीतकुमार मण्डल/रासस

काठमाडौँ- अर्थतन्त्रमा देखिएको मन्दीको असर मुलुकको अन्तर्राष्ट्रिय व्यापारमा पनि देखिएको छ।
मुख्य चाडपर्व तथा हिउँदका लागि आयात बढ्नुपर्नेमा त्यसको विपरीत कात्तिकमा व्यापार खस्किएको छ। गत वर्ष उत्साहप्रद रहेको निर्यात व्यापार पनि कात्तिकमा खुम्चिएको छ।

भन्सार विभागका अनुसार कात्तिकमा नेपालले एक खर्ब चार अर्ब रुपैयाँको वस्तु आयात गरेको छ। जबकि असोजमा नेपालले करिब एक खर्ब ४८ अर्ब रुपैयाँको आयात गरेको थियो।

यस हिसाबले कात्तिकमा ४४ अर्ब रुपैयाँले आयात घटेको देखिन्छ। आयात घट्दा नेपालबाट पैसा बाहिरिन कम भए पनि त्यसले अर्थतन्त्रमा घट्दो मागलाई संकेत गर्छ। समग्र माग घट्दा अर्थतन्त्रमा देखिएको समस्यालाई पनि अन्तर्राष्ट्रिय व्यापारको पछिल्लो प्रवृत्तिले पुष्टि गर्छ।

कात्तिकमा भएको कुल वस्तु आयात २०७९ कात्तिकको तुलनामा पनि करिब २० अर्ब रुपैयाँले कम हो। गत वर्ष कात्तिकमा नेपालले एक खर्ब ३२ अर्ब ६९ करोड रुपैयाँको आयात गरेकोमा यस वर्ष कात्तिकमा २८ अर्ब रुपियाँले कम आयात भएको हो।

चालु आर्थिक वर्षका चार महिनासम्मको आयात पनि गत वर्षको समान अवधिको तुलनामा कम रहेको विभागको तथ्यांकले देखाउँछ।

२०७९ कात्तिकसम्म पाँच खर्ब ३२ अर्ब ६९ करोड रुपैयाँको वस्तु आयात भएकोमा चालु आवको कात्तिकसम्म भने ३.७९ प्रतिशतले घटेर पाँच खर्ब १२ अर्ब ५० करोड रुपैयाँको आयात भएको छ ।

कात्तिकमा निर्यात पनि खस्किएको छ। असोजमा कुल १४ अर्बको वस्तु निर्यात भएकोमा कात्तिकमा १० अर्ब रुपैयाँको मात्र निर्यात भएको विभागको तथ्यांकले देखाउँछ।

गत आर्थिक वर्षको कात्तिकसम्मको तुलनामा यस वर्षको उक्त महिनासम्म पनि निर्यात घटेकै देखिन्छ। गत आवको कात्तिकसम्म ५४ अर्ब रुपैयाँको वस्तु निर्यात गरेको नेपालले चालु आवको उक्त अवधिसम्म ५० अर्ब रुपियाँको मात्र वस्तु निर्यात गरेको छ।

विभागका अनुसार कात्तिकसम्म सबैभन्दा धेरै ४० अर्ब ३१ करोड रुपैयाँको डिजेल आयात भएको छ। त्यसपछि २२ अर्ब ८७ करोडको पेट्रोल, १५ अर्ब ४५ करोडको एलपी ग्यास, १२ अर्बको फलामजन्य वस्तु र ११ अर्ब ५३ करोड रुपैयाँको स्मार्टफोन आयात भएको छ।

त्यस्तै निर्याततर्फ तीन अर्ब ७० करोडको गलैँचा, दुई अर्ब ३७ करोडको फलामे छड, दुई अर्ब १५ करोडको अलैँची, एक अर्ब ९९ करोडको जुस, एक अर्ब ७६ करोडको फेल्ट निर्यात भएको विभागको तथ्यांक छ।

कात्तिकसम्म नेपालको कुल अन्तर्राष्ट्रिय व्यापार पाँच खर्ब ६३ करोड रुपियाँ पुगेको छ जुन अघिल्लो आवको कात्तिकसम्मको तुलनामा ४।१५ प्रतिशतले कम हो।

गत कात्तिकसम्म कुल व्यापार पाँच खर्ब ८७ अर्ब नाघेको थियो । यस वर्ष आयात र निर्यात दुवै खुम्चिँदा गत वर्षको कात्तिकसम्मको तुलनामा नेपालको व्यापार घाटा ३।३४ प्रतिशतले कम भएर चार खर्ब ६१ अर्ब पुगेको छ। गत वर्ष कात्तिकसम्म नेपालले चार खर्ब ७७ अर्ब रुपियाँ व्यापार घाटा बेहोरेको थियो। गोरखापत्र दैनिक

प्रकाशित: ८ मंसिर २०८० ७:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + eight =