काठमाडौँ- सनातन हिन्दू धर्मको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले स्थापित वेद विद्याश्रम गुरुकुललाई थप व्यवस्थित रूपमा सञ्चालन गर्न काठमाडौँको बूढानीलकण्ठ मन्दिरपरिसरमा विराट् महायज्ञ सप्ताह सुरु भएको छ।
हरिबोधनी एकादशीको अवसर पारेर बूढानीलकण्ठ मन्दिर व्यवस्थापन समितिले बुधवारदेखि महायज्ञ सुरु गर्न लागेको हो। बूढानीलकण्ठ मन्दिरमा दशनामी मठका संरक्षक श्री १००८ स्वामी निगमानन्द गिरी महाराजको संकल्प तथा १०८ स्वामी पुरुषोत्तम महाराजको प्रवचनमा सम्पन्न हुने महायज्ञको पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुभयो।
सो अवसरमा कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत पनि सहभागी थिए। महायज्ञमा मूल यजमान अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त तथा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्द र उनकी श्रीमती मीरा चन्द छन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै चन्दले वैदिक सनातन धर्मको महत्त्वलाई चिरकालसम्म संरक्षण गर्न गुरुकुल सञ्चालन गर्नु अति नै महत्त्वपूर्ण रहेकाले त्यसको सञ्चालन र व्यवस्थापनका लागि महायज्ञ सुरु गरिएको बताए। श्रीमद्भागवत महापुराणको महत्त्वबारे चर्चा गर्दै उनले महाराज परीक्षितले सर्पले डस्ने श्राप पाउनुभएपछि उनले आफ्नो मृत्युपछि मुक्ति पाउने उद्देश्यले शुकदेव स्वामीसँग सात दिनसम्म कथा सुनेको र परीक्षितले सो ज्ञान महायज्ञबाट मुक्ति प्राप्त गरेको प्रसंग उल्लेख गरे।
चन्दले भने, ‘पाप, महापाप, ठगी, अनैतिक, अत्याचार अनि बेथितिको अन्त्य गरी सुसंस्कृत समाज निर्माण गर्ने एकमात्र अचुक विधि महायज्ञ रहेको विषय श्रीमद्भागवतमा पनि उल्लेख छ। यसको अनुसरण गर्नु नै उत्तम विधि हो।’ उनले पापबाट मुक्ति पाउने उत्तम विधि सत्संग रहेको बताउँदै गुरुकुल सञ्चालनका लागि सुरु भएको महायज्ञमा सबैको सहभागिताका लागि आग्रह गरे।
सप्ताह महायज्ञ मूल समारोह समितिका संयोजक तथा बूढानीलकण्ठ-२ का वडाध्यक्ष राजु श्रेष्ठले धार्मिक दृष्टिले अत्यन्तै महत्त्वपूर्ण बूढानीलकण्ठ मन्दिरको महत्त्वलाई उजागर गर्न राज्यले विशेष गुरुयोजना तयार गर्नुपर्नेमा जोड दिए। हरिबोधनी एकादशीको अवसर पारेर प्रत्येक वर्ष बूढानीलकण्ठ मन्दिरमा सप्ताह महायज्ञ तथा कलश यात्रा गरिँदै आएको छ।
काठमाडौँको उत्तरपट्टिको शिवपुरी डाँडाको फेदमा रहेको धार्मिक, सांस्कृतिक तथा पुरातात्त्विक बूढानीलकण्ठलाई महत्त्वपूर्ण धार्मिक स्थलका रूपमा लिने गरिन्छ। सनातन हिन्दू धर्मसँगै बौद्ध धर्मावलम्बीको समेत आस्थाको केन्द्र मानिने बूढानीलकण्ठ मन्दिरमा एउटै शिलाबाट बनेको विशाल मूर्तिमा हरेक एकादशी तिथिमा विशेष पूजाआजा तथा मेला लाग्ने गरेको छ।
नीलकण्ठ नामका एक किसानले जमिन खन्ने क्रममा उक्त मूर्ति फेला पारेको किंवदन्ती छ। उनै नीलकण्ठ किसानको नामबाट बूढानीलकण्ठ भनी मन्दिरको नामकरण भएको जनविश्वास छ। त्यहाँ सात आनाको गहिरो पोखरीमा उत्तानो परी अवस्थित रहेको विशाल मूर्तिको लम्बाइ २२ फिट १२ इन्च, १२ फिट १.५ इन्च चौडाइ र ट फिट गोलाकार रहेको छ।