१३०० वर्षे एकादशी मेला

हिमाल प्रेस ७ मंसिर २०८० ११:१८
4
SHARES
१३०० वर्षे एकादशी मेला

धादिङ- धादिङको गंगाजमुना झरना धार्मिक तथा पर्यटकीयरूपले परिचित स्थल हो। यस झरनामा वर्षौंदेखि लाग्दै आएको जात्राको रौनक अहिले पनि घटेको छैन।

देशका थुप्रै जिल्लाबाट यो मेला हेर्न र गंगाजमुना माईको दर्शन गर्न उल्लेख्य संख्यामा आउने गर्दछन्। धादिङका उत्तरी क्षेत्रमा पर्ने यो मेला हरेक वर्ष हरिबोधनी एकादशीको दिन लाग्छ।

गंगाजमुना गाउँपालिकाको नाम पनि यही मेलाको नामबाट राखिएको हो। यस वर्ष बुधबार बिहानैदेखि झरनाको फेदीमा जम्मा भएका भक्तजनले आज एकादशीको दिन बिहान त्यही स्नान गरी पूजाआजा गरेका छन्।

तेह्र सय वर्ष अगाडि गंगा र जमुना नाम गरेका दुई छोरी बेपत्ता भएको र परिवारले खोज्दै जाँदा गुफाभित्रबाट ‘हामी यही सुरक्षित छौँ, हाम्रो यही पूजापाठ गर्नुहोला’ भनेपछि उनै गंगा र जमुनाको सम्झनामा हरेक वर्ष गंगाजमुना माईको मेला सुरु भएको किम्बदन्ती छ।

गंगाजमुना गाउँपालिका–५ ढाँडखर्कमा रहेको पहराको टुप्पोबाट खस्ने गंगा र जमुना नामका दुई झरना छन्। तीन सय मिटर माथिबाट झर्ने यो झरनामा नुहाएर मनले चिताएको पूरा होस् भनेर आर्शिवाद माग्ने चलन छ। झरना झरेको पहराको बीचमा रहेको मन्दिरमा गएर महादेवको पूजाआजा गरिन्छ।

एकादशीको दिन बिहान गंगाजमुनाको छहरामा स्नान गरी डोली तार्ने, बत्ती सेलाउने र पहरामा रहेको भगवान् गंगाजमुनाको दर्शन गरी फर्किने चलन छ। गंगाजमुनाको दर्शन गर्दा मनले चिताएको पूरा हुने जनविश्वास रहिआएको छ।

भक्तजनले गंगाजमुना कुण्डमा नुहाउँदा रोगव्याधी निको हुने तथा परिवारमा सुखशान्ति र समृद्धि छाउने धार्मिक विश्वास रहिआएको गाउँपालिका अध्यक्ष भक्तबहादुर लामाले बताए।

गंगाजमुना झरनासँगै रहेको कुकुर धारोमा नुहाउनेको घुइँचो लाग्छ। विशेषगरी वर्षभरि कुकुर वा अन्य कुनै जनावरले टोकेमा त्यसको दोष निवारणका लागि कुकुरधारोमा नुहाउने चलन रहेको छ।

मेला भर्न धादिङका विभिन्न स्थानका साथै छिमेकी जिल्ला रसुवा, नुवाकोट, चितवन, गोर्खा, तनहुँ, कास्की, काठमाडौँलगायत ठाउँबाट भक्तजन यहाँ आउने गर्छन्। स्थानीय सिंहबहादुर तामाङ भन्छन्, ‘एकादशीको राति झाँक्री नाचको रौनक अझ छुट्टै हुन्छ। भाकल बुझाउन वा दर्शन गर्न आउनेले रातभर आ–आफ्नो वेशभूषा र पहिरनअनुसारको कला देखाउँछन्।
बिहान झरनामा स्नान गरी पूजापाठ गरेर फर्कन्छन्।’

यो जात्रा धादिङको गंगाजमुना गाउँपालिकास्थित फूलखर्कमा छ। यहाँबाट घाम अस्ताएको र उदाएको दृष्य निकै रोमाञ्चक देखिन्छ। जात्रामा स्थानीय सरकारले नै हरेक वर्ष रात्रिकालीन सांगीतिक कार्यक्रम आयोजना गर्दै आएको छ।

लंगुरबुर्जा खेल यहाँको रात्रिकालीन जात्राको विशेषता हो। हरिबोधनी एकदशीमा भगवान् विष्णु एवं नारायणको पूजा हुने गरे पनि गंगाजमुनामा भने महादेवको पूजा हुने गरेको छ। धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण र आकर्षक भए पनि त्यस ठाउँसम्म पुग्न सडकको असुविधा छ।

सडकको सुविधा हुन सके विकट स्थानमा रहेको गंगाजमुना झरना आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्छ।

प्रकाशित: ७ मंसिर २०८० ११:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast