इटहरी- मोरङको उर्लाबारीमा भएको आगलागी घटनामा घाइते भएका थप एक पुरुषको पनि मृत्यु भएको छ। मृत्यु हुनेमा हेमकुमार दाहाल रहेका छन्।
काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत उर्लाबारी ७ का ४९ वर्षीय दाहालको उपचारको क्रममा बुधबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले पुष्टि गरेको छ।
अस्पतालको आईसीयू कक्षमा उपचाररत दाहालको राति ११ बजे मृत्यु भएको हो। यसअघि उपचारकै क्रममा स्थानीय तपन पण्डितको मृत्यु भएको थियो।
गत कात्तिक २६ गते लक्ष्मीपूजाको राति उर्लाबारी ७ का दीपक कार्कीको सुन पसलमा आगलागी भएको थियो । आगो निभाउन गएका ४ प्रहरीसहित २८ जना घाइते भएका थिए।
२३ जना घाइतेहरूको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ। आईसीयू कक्षमा ७ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ७ मंसिर २०८० ९:२९
प्रतिक्रिया