जाजरकोट- जाजरकोट बारेकोट गाउँपालिका–१ रामीडाँडा आसपास केन्द्रविन्दु बनाएर गत कात्तिक १७ गते राति गएको भूकम्पबाट कर्णाली प्रदेशका ५४ प्रहरी कार्यालयमा क्षति पुगेको छ।
जिल्ला प्रहरी कार्यालयदेखि अस्थायी प्रहरीचौकीसम्म भूकम्पले क्षति बनाएको कर्णाली प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए। प्रहरी कार्यालयमा क्षति पुगेसँगै प्रहरी त्रिपालको सहारामा काम गर्न बाध्य भएका छन्।
प्रहरी नायव महानिरीक्षक ढकालका अनुसार जाजरकोटमा ३३, रुकुम पश्चिममा १२, सल्यानमा तीन, जुम्लामा चार र कालीकोटमा दुई प्रहरी भवनमा क्षति पुगेको छ। जाजरकोटमा जिल्ला प्रहरी कार्यालयका चार भवन भत्किएका छन्।
बाह्र इलाका प्रहरी कार्यालय, १० प्रहरी चौकी, ६ अस्थायी प्रहरी पोस्ट र जिल्ला ट्राफिक कार्यालय भूकम्पबाट भत्किएको छ।
रुकुम पश्चिम जिल्ला प्रहरी कार्यालय, दुई इलाका प्रहरी कार्यालय, चार प्रहरी चौकी र पाँच अस्थायी प्रहरी पोस्ट भत्किएका छन्। त्यस्तै सल्यानमा तीन इलाका प्रहरी कार्यालय भत्किएका छन्।
जुम्लामा जिल्ला प्रहरी कार्यालय, एउटा इलाका प्रहरी कार्यालय र दुई प्रहरी चौकी भत्किएको छ। कालीकोटमा जिल्ला प्रहरी कार्यालय र एउटा प्रहरी चौकी भत्किएको छ ।
भाडाको घरमा रहेको जाजरकोट भेरी नगरपालिका–१ अस्थायी प्रहरी पोस्ट, रावतगाउँ चर्किएको छ।
त्यहाँका प्रहरी अहिले त्रिपालको भरमा दैनिक कामकाज गरिरहेका छन्। सदरमुकाम खलंगामा रहेको जिल्ला प्रहरी कार्यालयको हालत पनि अन्य प्रहरीचौकीभन्दा फरक छैन। जिल्ला प्रहरी कार्यालय प्रहरी जवान त्रिपालको भरमा छन्।
प्रहरी नायव उपरिक्षक सन्तोष रोकाका अनुसार जिल्ला प्रहरी कार्यालयका आठमध्ये सात भवन चर्किएर बस्न नहुने भएका छन्। भर्खरै बनेको एउटा पक्की भवन मात्र बस्न लायक छ। जाजरकोटमा जिल्ला प्रहरी कार्यालय, २०३४ सालमा स्थापना भएको हो।
भूकम्पबाट प्रभावित रुकुम पश्चिममा पनि प्रहरीको पुराना संरचना भत्किएर जीर्ण बनेको प्रहरी नायब उपरीक्षक नवराज भट्टराई बताउँछन्। पुर्तिमकाँडा, सोलावाङ र सिम्ली चौकी पूर्णरुपमा क्षतिग्रस्त भएको छ।
अस्थायी प्रहरी पोस्ट साँख, स्यालाखदी, प्रहरीचौकी, पीपल, झुल्नेटा र इलाका प्रहरी कार्यालय चौरजहारीको संरचनामा पनि आंशिक क्षति पुगेको छ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारको निवास पनि भूकम्पले भत्काएको छ । जिल्ला प्रशासन कार्यालयका पुराना संरचना बस्न नहुने भएका छन्।
डीआइजी ढकाल प्रदेशभर तीन सय आठ प्रहरी युनिट रहे पनि २५ प्रतिशत एकाइको मात्रै आफ्नो भवन रहेको बताउँछन्। पचहत्तर प्रतिशत सबै जोखिममा रहेका र भाडामा लिएका घर रहेको उनको भनाइ छ।
प्रकाशित: ७ मंसिर २०८० ७:४२
प्रतिक्रिया