‘सांसदलाई आफैँ निर्णय गर्ने अधिकार छैन’

हिमाल प्रेस ६ मंसिर २०८० १०:४६
4
SHARES
‘सांसदलाई आफैँ निर्णय गर्ने अधिकार छैन’ राप्रपा सांसद ज्ञानेन्द्र शाही। फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले सरकार संसद्प्रति जबाफदेही नदेखिएको बताएका छन्। उनले भने, ‘सांसदले आकस्मिक, शून्य र विशेष समयमा उठाएका विषयको जवाफ सम्बन्धित मन्त्रीले नियमावलीमा व्यवस्था भएबमोजिम नदिँदा न त स्पष्टीकरण सोधिन्छ न त कुनै कारबाही। सरकार संसद्प्रति जवाफदेही हुनैपर्छ।’

प्रतिनिधिसभा नियमावली, २०७९ बनाउने टोलीको सदस्यका रूपमा आफू रहँदा विशेष र शून्य समयमा सरकारले जवाफ नदिएमा सुरुमा सभामुखले ल्याएर स्पष्टीकरण सोध्ने र चित्तबुझ्दो जवाफ नआएमा मन्त्री पदबाट बर्खास्त गर्ने व्यवस्थामा जोड गरेको उनले बताए। त्यसलाई पारित गर्न नसक्दा अहिले सरकारलाई जवाफदेही बनाउने प्रावधान नरहेको सांसद शाहीको भनाइ छ।

जुम्लाबाट प्रत्यक्ष निर्वाचित सांसद शाहीले संसद्लाई प्रभावकारी बनाउन गुणस्तरीय र क्षमतावान् सांसदको आवश्यकता रहेकामा जोड बताए। ‘सांसदको भूमिकालाई बहन गर्न सक्ने, जनताको आवाज कदर गर्न सक्ने सांसद हुनुपर्छ’, उनले भने। हरेक क्षेत्रमा उत्कृष्ट क्षमता भएका व्यक्तिलाई ध्यान नदिई ‘पार्टीलाई सहयोग गरेको’ भन्दै सांसद छान्ने काम उचित नभएको उनले बताए।

सांसदले विधेयकको अध्ययन, छलफल, बहसमा भाग लिनुपर्नेमा जोड गर्दै सांसद शाहीले आफूले विधेयकमाथि अध्ययन गरी कारणसहित समर्थन र विरोध जनाएको तथा सदनमा उपस्थित नभएका दिनबाहेक आफूले शतप्रतिशत भूमिका निर्वाह गरेको दाबी गरे।

‘राम्रा विधेयकमा पनि दलको नेतालाई चित्त नबुझेमा तथा निजी स्वार्थ र व्यक्तिगत स्वार्थ परिपूर्ति गर्नका लागि विधेयक पारित हुन नसकेको अवस्था छ। अधिकांश सांसदलाई विधेयक चित्त बुझेको हुँदैन। कतिपय सांसदलाई आफैँ निर्णय गर्ने अधिकार छैन। यस्तो अवस्थामा संसद्ले मुलुकमा असल कानुन निर्माण गर्न सक्दैन’, सांसद शाहीले भने।

निर्वाचन आयोगले कुनै पनि सांसदलाई पार्टीले राजीनामा गराउन पाउने अधिकार बनाउँदा सांसद स्वतन्त्र नहुने नियमप्रति शाहीले आपत्ति जनाए। संसद्को टाइम कार्ड लागू गर्ने अभ्यास उपयुक्त नरहेको उनको भनाइ छ। ‘संसद खुला बहस गर्ने थलो हो। टाइम कार्ड लागू गरेर दुई-तीन मिनेट समय दिएको हुन्छ, यो ठीक होइन’, उनले भने।

सांसद शाहीले आफ्नो निर्वाचन क्षेत्रको आवश्यकता कानुन निर्माण भन्दा विकास निर्माण रहेकाले चुनावका समयमा जनतालाई दिएका आश्वासनप्रति आफू प्रतिबद्ध र प्रयासरत रहेको बताए। रासस

प्रकाशित: ६ मंसिर २०८० १०:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast