काठमाडौँ- सरकारले टिकटक बन्द गर्ने निर्णय गरिसकेपछि पनि चलिरहेको पाइएमा जानकारी गराउन आग्र गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा पहुँच पुगिरहेको वा चलिरहेको भए तत्काल जानकारी गराउन आग्रह गरेको हो।
सूचना जारी गर्दै प्राधिकरणले इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकहरूलाई टिकटक नचल्ने बनाउन निर्देशन दिइसकेकाले अझै पनि चलेको पाइएमा जानकारी गराउन आग्रह गरेको हो।
यसअघि कार्तिक २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा टिकटक प्रतिबन्धको निर्णय गरेको थियो। सो निर्णयको प्रभावकारी कार्यान्वयनका लागि प्राधिकरणले प्राविधिक समिति पनि गठन गरिएको बताएको छ।
उक्त समितिले एक हप्ता भित्र टिकटक बन्द गरे/नगरेको सम्बन्धमा अनुगमन र अनुसन्धान गरी प्रतिवेदन पेस गर्नेछ। यसैबीच सरकारले गरेको टिकटक बन्दको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पनि परेका छन्।