भूकम्प प्रभावित रुकुम पश्चिममा पहिलो चरणको राहत वितरण सकियो

हिमाल प्रेस २ मंसिर २०८० १८:४५
4
SHARES
भूकम्प प्रभावित रुकुम पश्चिममा पहिलो चरणको राहत वितरण सकियो

त्रिवेणी (रुकुम पश्चिम)- भूकम्पबाट प्रभावित रुकुम पश्चिमका विभिन्न स्थानमा पहिलो चरणको राहत वितरण सकिएको छ। भूकम्प गएको भोलिपल्ट नै उद्धार सकिए पनि पहिलो चरणको राहत वितरण भने दुई सातापछि हिजो शुक्रबारमात्रै पूरा भएको रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले बताए।

भूकम्पबाट प्रभावित जिल्लाको आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाका पीडित परिवारलाई त्रिपाल, कम्बल, सिरक, म्याट, चामल, दाल, नुन, तेललगायतका राहत सामग्री वितरण गरिएको उनले बताए।

उनका अनुसार मानवीय क्षति तथा भौतिक संरचनामा कम क्षति भएका मुसीकोट र चौरजहारी नगरपालिका, बाँफीकोट र त्रिवेणी गाउँपालिकामा पनि पहिलो चरणमा राहत वितरण सकिएको छ।

अब स्थानीय तहबाट क्षतिको पूर्ण विवरण प्राप्त भएपछि विपद् व्यवस्थापन समितिको बैठकले गर्ने निर्णयअनुसार अस्थायी आवास निर्माण सुरु गरिने उनको भनाइ छ। ‘अबको आवश्यकता भूकम्पपीडितलाई अस्थायी टहरा निर्माण गरी सुरक्षित ठाउँमा स्थानान्तरण हो। सोही अनुसार काम गर्छौ,’ उनले भने।

उनका अनुसार स्थानीय तहलाई कार्यालयले भनेअनुसारको ढाँचामा क्षतिको विवरण संकलन गरी पठाउन निर्देशन दिइएको छ। केही व्यक्ति तथा संस्थाले आफ्नै पहलमा आठबिसकोट र चौरजहरी नगरपलिकामा अस्थायी टहरा निर्माण सुरु गरिसकेका छन्।

मृतकका परिवारलाई नगद

भूकम्पमा ज्यान गुमाएका रुकुम पश्चिमका मृतकका परिवारलाई नगद वितरण गरिएको छ।

सानीभेरी गाउँपालिकाका १० जना मृतकका परिवारलाई १६ लाख रुपैयाँ र आठबीसकोट नगरपालिकाका मृतकका ३७ जना मृतकका परिवारलाई ६१ लाख रुपैयाँ गरी कूल ७७ लाख रुपैयाँ नगद वितरण गरिएको जिल्ल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए।

बाँकीलाई कागजपत्र मिलेपछि राहत वितरण गरिने उनको भनाइ छ। प्रमुख जिल्ला अधिकारी पन्तका अनुसार संघीय सरकारबाट प्राप्त रकमबाट मृतकका परिवारलाई नगद वितरण गरिएको हो।

सरकारले प्रति मृतकका घरपरिवारलाई दुई लाख रुपैयाँका दरले र एउटै घरमा एक जनाभन्दा बढीको मृत्यु भएकामा दुई लाख रुपैयाँ र थप एक लाख रुपैयाँका दरले नगद उपलब्ध गराउने निर्णय गरेको थियो।

सोही निर्णयबमोजिम सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमा ५ करोड रुपैयाँ पठाएको थियो।

प्रकाशित: २ मंसिर २०८० १८:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast