काठमाडौँ- नेपाल बैंकको चुक्ता पुँजी अहिले १४ दशमलव ६९ अर्ब पुगेको छ। ८७ वर्ष अघि ८ लाख ४२ हजार रुपैयाँबाट सुरु भएको नेपाल बैंकको चुक्ता पुँजी अहिले १४ दशमलव ६९ अर्ब रहेको बैंकका सूचना अधिकारी प्रकाशकुमार अधिकारीले जानकारी दिए।
२०८० आषाढ मसान्तसम्म बैकले दुई खर्ब ४४ अर्ब निक्षेप संकलन गरी एक खर्ब ८४ अर्ब कर्जा प्रदान गर्न बैंक सफल भएको जनाएको छ। प्रत्येक वर्ष सञ्चालन मुनाफामा बढोत्तरी हुँदै गएको यस बैंकको जगेडा कोषमा २१ दशमलव ८८ अर्ब रुपियाँ छ भने पुँजी पर्याप्तता अनुपात १४ दशमलव ४९ प्रतिशत र नेटवर्क ३६ दशमलव ५८ अर्बभन्दा बढी रहेको बैंकले जनाएको हो।
हाल ७१ जिल्लामा शाखा सञ्जाल विस्तार गरी करिब तीन हजार छ सय कर्मचारी मार्फत आधुनिक बैंकिङ सेवा विस्तारमा आक्रामक ढंगले प्रस्तुत भएको यस बैंकले २ सय २८ शाखा, ५८ वटा विस्तारित काउन्टर तथा २ सय ४ वटा एटिएम बुथमार्फत देशैभर कारोबार सञ्चालन तथा सेवा प्रवाह गरिरहेको जनाएको छ।
नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेड, ८७ औँ वर्षमा प्रवेश
विसं १९९४ साल कात्तिक ३० गते स्थापना भएको नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड आफ्नो स्थापनाको ८६ वर्ष पूरा गरी ८७ औँ वर्षमा प्रवेश गरेको छ।
सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा १० जना लगानीकर्ताहरूले सुरु गरेको यस बैंकको चुक्ता पुँजी ८ लाख ४२ हजार र निक्षेप १७ लाख थियो भने लगानी १९ लाख थियो।