विश्वकप क्रिकेट : भारतको अपराजित यात्रामा ‘ब्रेक’ लाउने दाउमा न्युजिल्यान्ड

हिमाल प्रेस २९ कार्तिक २०८० ८:२४ | Wednesday, November 15, 2023
विश्वकप क्रिकेट : भारतको अपराजित यात्रामा ‘ब्रेक’ लाउने दाउमा न्युजिल्यान्ड

काठमाडौँ- विश्वकप क्रिकेटअन्तर्गत आजदेखि सेमिफाइनल चरणका खेल सुरु हुँदैछन्। प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज घरेलु टोली भारतले न्यूजिल्यान्डको सामना गर्दैछ।

वानखेडे स्टेडियम मुम्बईमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ। रोहित शर्माको नेतृत्वमा रहेको टोली जारी विश्वकपमा अपराजित छ।

भारत सन् २०११ पछि पहिलो पटक फाइनलमा पुग्न चाहन्छ। आफ्नो अन्तिम खेलमा श्रीलङ्कालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको न्यूजिल्यान्डले लिग चरणमा ९ मध्ये ५ खेल जित्दै चौथो स्थानमा रहेर सेमिफाइनलमा स्थान बनाएको हो।

अघिल्ला दुई संस्करणमा फाइनल पुगे पनि उपाधि जित्न असफल न्यूजिल्यान्ड लगातार तेस्रो पटक उपाधि भिडन्त पक्का गर्ने योजनामा हुने छ। भारत पछिल्ला १० वर्षमा आईसीसीले गरेका ९ वटा प्रतियोगितामा ८ पटक नकआउट चरणबाटै बाहिरिएको छ।

सन् २०१९ विश्वकपको सेमिफाइनलमा भारतविरुद्ध न्यूजिल्याण्ड १८ रन र २०२१ टेस्ट च्याम्पियनसिपको फाइनलमा ८ विकेटले विजयी भएको थियो। भारत यी दुवै हारको बदला लिने सोचमा हुनेछ।

भारतले लिग चरणमा न्युजिल्याण्डलाई ४ विकेटले पराजित गरेको थियो। ५ सय ९४ रन बनाएका विराट कोहली जारी विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी हुन्। उनले २ शतकसमेत बनाएका छन्।

न्युजिल्यान्डका युवा स्टार रचिन रवीन्द्रले सबैलाई प्रभावित गरेका छन्। उनले ३ शतकको मद्दतमा ५ सय ६५ रन बनाएका छन्। ​जसप्रीत बुमराहले ३ दशमलव ६५ को अविश्वसनीय इकोनोमी रेटसहित १७ विकेट लिएका छन्। मिचेल सान्टनरको नाममा १६ विकेट छ।

एक दिवसीय विश्वकपमा न्यूजिल्यान्डले भारतविरुद्ध ९ खेल खेल्दा ५ जित र ४ खेलमा हार बेहोरेको छ। दोस्रो सेमिफाइनलमा बिहीबार अस्ट्रेलियाले दक्षिण अफ्रिकाको सामना गर्ने छ ।

प्रकाशित: २९ कार्तिक २०८० ८:२४ | Wednesday, November 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast