संखुवासभा र गोरखामा पनि नेपाल सम्वत् मनाइयो

हिमाल प्रेस २८ कार्तिक २०८० १८:१४
8
SHARES
संखुवासभा र गोरखामा पनि नेपाल सम्वत् मनाइयो

गोरखा- गोरखाका नेवार समुदायले आज सांस्कृतिक झाँकी तथा र्‍यालीसहित नेपाल सम्वत् ११४४ विभिन्न कार्यक्रम गरी मनाएका छन्।

नयाँ वर्षको रूपमा नेवाः देय् दवु जिल्ला कार्यसमिति गोरखाको आयोजनामा सदरमुकाममा नेवार समुदायको पोशाकमा सजिएर झाँकीसहितको र्‍याली गरेर नेपाल सम्वत् मनाइएको हो।

गोरखा नगरपालिका-६ को रानीपोखरी परिसरबाट सुरु भएको र्‍याली ठूलो आँगन, पाटेचौर, गोरखा अस्पताल, धनबासे, कालीमाटी बजार हुँदै शक्तिचोक, पुरानो बसपार्कबाट पुनः रानीपोखरी परिसरमा पुगेर समापन भएको थियो।

र्‍यालीपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले इतिहास, भाषा, संस्कृति र संस्कारसँग जोडिने भएकाले सबै जातजातिको भाषा र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए।

राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत्को सुरुआत गराएसँगै नेपाल सम्वत् मनाउन थालिएको हो।

त्यस अवसरमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति गोरखाका अध्यक्ष विष्णुराना मगर र नेवाः देय् दवुका सल्लाहकार मोहनलाल श्रेष्ठलगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

यसैगरी, संखुवासभाको खाँदबारी र चैनपुरमा नेवाः देय् दबुले शान्ति र्‍याली निकालेको थियो। खाँदबारीको बुद्ध चोकबाट प्लेकार्डसहित निस्किएको र्‍यालीले नगरका विभिन्न स्थान परिक्रमा गरेको थियो।

र्‍यालीपछि आयोजित कार्यक्रममा नेवाः देय् दबुका सदस्यले नेपाल संवत्‌लाई राष्ट्रिय सम्वत्‌का रूपमा आजबाट प्रचलनमा ल्याएको र सरकारी कागजातमा उल्लेख गर्ने सरकारको निर्णयको स्वागत गरेका थिए। रासस

प्रकाशित: २८ कार्तिक २०८० १८:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast