हमास र इजरायलबीचको युद्धविराम थप एक दिन लम्बियो

हिमाल प्रेस १४ मंसिर २०८० २०:१० | Thursday, November 30, 2023
हमास र इजरायलबीचको युद्धविराम थप एक दिन लम्बियो फाइल तस्बिर

गाजा/जेरुसेलम (रासस/सिन्ह्वा) – हमास र इजरायलले गाजा पट्टीमा मानवीय युद्धविराम लम्ब्याउन सहमत भएको प्यालेस्टाइनी र इजरायली अधिकारीहरूले बिहीबार विभिन्न वक्तव्यमा बताएका छन्।

हमासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बिहीबार बिहान सकिँदै गरेको युद्धविरामको समयावधि थप एक दिन लम्ब्याइने भएको छ। हाम्रा मध्यस्थकर्तामार्फत हामी युद्धविरामलाई थप एक दिनका लागि लम्ब्याउन सहमत भएका छौं।’

इजरायली रक्षा बल (आईडीएफ) ले गाजा पट्टीमा हमाससँगको युद्धविराम लम्बिने बिहीबार पुष्टि गरेको छ। ‘बन्धकहरूलाई रिहा गर्ने प्रक्रिया जारी राख्ने मध्यस्थहरूको प्रयासपछि सम्झौतामा उल्लेखित सर्तहरूको अधीनमा रहने गरी थप एक दिनका लागि युद्धविरामको समय विस्तार भएको छ,’ हालको युद्धविराम सम्झौताको म्याद समाप्त हुनुभन्दा केही मिनेट अघि आईडीएफले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ।

हमासले बुधबार रिहा गरेका दुई इजरायली–रूसी महिलालाई बिहीबारका लागि बन्धकको सूचीमा समावेश गरिने भएकाले बिहीबार हमासले आठ जना मात्र बन्धकलाई रिहा गर्ने इजरायली सञ्चारमाध्यमले जनाएका छन्। त्यसको बदलामा ३० जना प्यालेस्टिनीलाई इजरायली जेलबाट रिहा गरिनेछ।

इजरायली सेनाका प्रवक्ता अविचाई अद्राईले एक प्रेस विज्ञप्ति जारी गर्दै भने, ‘बन्धकलाई रिहा गर्ने प्रक्रिया जारी राख्न मध्यस्थहरूको प्रयास र सम्झौताका सर्तहरू अनुसार थप एक दिनका लागि मानवीय युद्धविराम अवधि जारी रहनेछ। हमासले सम्झौताअनुसार रिहा गरिने बन्धकहरूको नामको नयाँ सूची ‘पछि हस्तान्तरण गर्ने बताएको’ छ।’

दुवै पक्षले युद्धविराम सम्झौताको एक भागको रूपमा छैटौं चरणको रिहाइ पूरा गरेका छन्।

प्रकाशित: १४ मंसिर २०८० २०:१० | Thursday, November 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast