स्कुल भवन तहसनहस, टहरामा पढाउने योजना

हिमाल प्रेस २४ कार्तिक २०८० ११:०१ | Friday, November 10, 2023
स्कुल भवन तहसनहस, टहरामा पढाउने योजना भूकम्पले क्षति पुर्‍याएको जाजरकोटको भेरी नगरपालिका–३ स्थित त्रिभुवन उच्च माध्यमिक विद्यालयको भवन। तस्बिर : रासस

कर्णाली– जाजरकोट र रुकुम पश्चिमका सामुदायिक विद्यालय भूकम्पले तहसनहस बनाएपछि तत्काल कसरी पठनपाठन सुरु गर्ने भन्नेमा स्थानीय तह समस्यमा परेका छन्। तिहारलगत्तै विद्यालय खोल्नुपर्ने अवस्था छ।

भूकम्पले अधिकांश विद्यालयमा क्षति हुनुका साथै चिसोयामका कारण अर्को समस्य थपिने भएकाले शैक्षिक गतिविधि कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल हुन थालेको छ। अधिकांश घर बस्न योग्य नभएको अवस्थामा विद्यालयसमेत भत्किएपछि विद्यार्थी पनि समस्यामा परेका छन्।

शैक्षिक क्रियाकलाप अगाडि बढाउनका वैकल्पिक टहरा निर्माण गरेर विद्यालय खोल्ने योजनामा रहेको स्थानीय तहका जनप्रतिधिले बताए। रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले टहरा बनाएर भए पनि पठनपाठन थाल्ने बताए। ‘अहिले उद्धारमा लागिपरेका छौँ। तिहारलगत्तै हामी टहरा बनाएर भए पनि वैकल्पिक रूपमा पठनपाठन सञ्चालन गर्नेछौँ’, उनले भने।

आठबिसकोटमा ६७ वटा विद्यालयमा क्षति भएको शिक्षा विकास तथा समन्वय एकाइ रुकुम पश्चिमले जनाएको छ। एकाइ प्रमुख ताराप्रकाश पुनमगरले प्रदेश र स्थानीय तहसँग समन्वय गरी वैकल्पिक बाटोबाट पठनपाठन सञ्चालनको तयारी भइरहेको जानकारी दिए।

नलगाड नगरपालिकामा पनि वैकल्पिक तरिकाले विद्यालय सञ्चालनमा ल्याइने नगरप्रमुख डम्बर रावतले बताए। पठनपाठन सञ्चालनबारे प्रदेश सरकार, विभिन्न संघसंस्थासँग छलफल गरेर भौतिक संरचनाभन्दा पनि, टहरालगायत उपाय अपनाएर गर्ने योजनामा रहेको उनको भनाइ छ। नलगाढ बढी भूकम्पबाट प्रभावित क्षेत्र हो।

नगरप्रमुख रावतका अनुसार उक्त नगरपालिकाभित्र ३४ विद्यालय पूर्ण रूपमा क्षति भएका छन्। जाजरकोट र रुकुम पश्चिमलगायत क्षेत्रमा भूकम्पबाट दुई सय सात सरकारी विद्यालयमा क्षति भएको उनले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार जाजरकोटमा एक सय ५२ विद्यालयमा क्षति पुगेको छ। शिक्षा विकास तथा समन्वय एकाइ रुकुम पश्चिमका इकाइ प्रमुख पुनमगरले भूकम्पबाट ३८ विद्यालयमा पूर्ण र १७ विद्यालयमा आंशिक क्षति भएको जानकारी दिए। भेरी नगरपालिकामा दुई विद्यालय पूर्ण रूपमा भत्किएका छन् भने आंशिक रूपमा १७ वटामा क्षति भएको छ।

नलगाड नगरपालिकामा १२ विद्यालय पूर्ण रूपमा भत्किएका छन्। आंशिक रूपमा २१ वटामा क्षति पुगेको छ। छेडागाडमा तीन, कुशेमा चार र बारेकोटमा पाँच विद्यालय विद्यालय पूर्ण रूपमा भत्किएको छ । प्रहरीको तथ्यांकअनुसार शिवालय गाउँपालिकामा पाँच विद्यालयमा आंशिक र जुनिचाँदे गाउँपालिकामा २३ विद्यालयमा पूर्ण क्षति भएको छ।
रुकुमको आठबिसकोटको माथिल्लो डोल्पासँग जोडिएको भागमा, जाजरकोटको नलगाड नगरपालिकाको माथिल्लो भागमा तथा बारेकोट गाउँपालिकामा बढी चिसो तथा हिमपात हुन्छ। घरविहीन भएका बालबालिका अस्थायी रुपमा निर्माण गरिएका टहरामा गएर शिक्षा लिने सम्भावना बढेको छ।

प्रकाशित: २४ कार्तिक २०८० ११:०१ | Friday, November 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast