साढे दुई करोडको रामायण भवन प्रयोगविहीन

हिमाल प्रेस ३० कार्तिक २०८० ८:२० | Thursday, November 16, 2023
साढे दुई करोडको रामायण भवन प्रयोगविहीन

तनहुँ- भानु नगरपालिका–४ चुँदीरम्घामा निर्माण गरिएको रामायण भवन तीन वर्षदेखि प्रयोगविहीन अवस्थामा छ। दुई करोड ५० लाख रुपैयाँमा निर्माण गरिएको भवनमा अहिले ताला लागेको छ ।

आदिकवि भानुभक्तसम्बद्ध स्थल, खोज, अनुसन्धान, संरक्षण, प्रवर्द्धन र प्रचार–प्रसार गर्नेलगायतका उद्देश्यका साथ भवन निर्माण गरे पनि प्रयोगमा नआएको हो। नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थानलाई भाषिक तथा साहित्यिक केन्द्र बनाउने उद्देश्यले भवन निर्माण गरिएको थियो।

आदिकवि भानुभक्त जन्मस्थल विकास समिति, स्थानीय निकाय र राज्यले भाषिक एकताका प्रणेता भानुभक्त जन्मस्थलप्रति बेवास्ता गरेको स्थानीय बासिन्दा सन्देश आचार्यले बताए। पछिल्ला समयमा भवनका सामान चोरी हुने, तोडफोड हुने, युवायुवती बस्ने र स्थानीय बासिन्दाले गफ गर्ने स्थलका रूपमा प्रयोग भएको छ।

संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन विभाग मातहतमा आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले रामायण भवन निर्माण गरेको हो। करिब १० रोपनी क्षेत्रफलभित्र भानुगृह, आवासगृह, चमेनागृह, पुस्तकालय, र पोखरीलगायत संरचना निर्माण गर्ने गुरुयोजना भए पनि हाल अलपत्र अवस्थामा छ।

गुरुयोजनाका लागि अनुमानित लागत १६ करोड रुपैयाँ छ। पर्यटक आकर्षित गर्न आदिकविको १०० फिट अग्लो सालिक निर्माणलगायत योजना छ। जुन उद्देश्यले रामायण भवन निर्माण गरिएको हो, सोअनुरुप प्रयोगमा नआई अलपत्र अवस्थामा देखिँदा दुःख लागेको भानु नगरपालिका–५ सेपा बगैँचाका भरत पोख्रेलले बताए।

‘कलात्मक बुँदा कुँदेर बनाइएको काठलाई धमिराले खान थालेको देख्दा दुःख लागेको छ’, उनले भने, ‘यसको उचित संरक्षणका लागि सम्बन्धित निकायको ध्यान पुग्न जरुरी छ।’

आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका अध्यक्ष तथा साविक भानु गाविसका अध्यक्ष ऋषिराम पन्तले भवन संरक्षणका लागि प्रहरी चौकी राख्न माग गरे पनि सुनुवाइ नभएको बताए।

प्रकाशित: ३० कार्तिक २०८० ८:२० | Thursday, November 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast