विश्वभर सडक दुर्घटनामा मृत्यु भएकाको सम्झनामा बुटवलमा मैनबत्ती प्रज्वलन

हिमाल प्रेस ३ मंसिर २०८० २१:३६ | Sunday, November 19, 2023
विश्वभर सडक दुर्घटनामा मृत्यु भएकाको सम्झनामा बुटवलमा मैनबत्ती प्रज्वलन

लुम्बिनी- विश्वभर सवारी दुर्घटनामा मृत्यु भएकाको स्मृतिमा आइतबार बुटवलमा मैनबत्ती प्रज्वलन गरिएको छ। सुरक्षित यात्रा अभियान नेपाल, मिडिया एक्सन फर रोड सेफ्टी, रोटरी डिस्ट्रिक ३२९२ रिजन ५ अन्तर्गतका तीन दर्जन क्लबको संयुक्त आयोजनामा बुटवलमा मैनबत्ती प्रज्वलन र सचेतनामूलक र्‍याली निकालिएको हो।

नेसनल रोड सेफ्टी एलायन्सका केन्द्रीय अध्यक्ष एवम् नेकपा एमालेका सचिव योगेश भट्टराईले कार्यक्रममा सम्बोधन गर्दै सडकमैत्री कानुन र पूर्वाधार अभावले दुर्घटना भइरहेको बताए। उनले नेपालमा बर्सेनि तीन हजार जनाको सडक दुर्घटनामा मृत्यु हुने दरलाई रोक्ने गरी सरोकारवाला निकाय लाग्नुपर्नेमा जोड दिए।

भट्टराईले संयुक्त राष्ट्रसंघको घोषणापत्रमा सडक दुर्घटना २०३० सम्म ५० प्रतिशत घटाउने लक्ष्यसहित विश्वका कतिपय देशले अभियान थालेको जानकारी पनि दिए। सडक सुरक्षा काउन्सिलको सडक कानुन निर्माण पछि बन्ने हुँदा पनि सरकारी संयन्त्र विकासपछिको समस्याबारे खासै चासो नदिने गरेको उनको भनाइ छ।

नियमसम्मत सवारी नचलाउँदा दुर्घटना बढेको र नयाँ बनेका सडकमा कुन लेनको प्रयोग गर्ने हो त्यो ज्ञान नहुँदा अर्को समस्या रहेको उनले बताए।

नेपाली सवारीचालक अनुमतिपत्र (लाइसेन्स) ले अन्तर्राष्ट्रिय मान्यता नपाएका कारण पनि नेपाली नागरिकले विदेशमा गएर सवारीचालक अनुमतिपत्र लिन ठूलो धनराशि खर्च गर्नुपर्ने र नयाँ पुस्तामा सवारीसाधन दैनिक जीवनमा अनिवार्य रहेको हुँदा पनि यसलाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ।

सवारी दुर्घटनाबाट हुने अकालमा हुने मृत्यु न्यूनीकरणका लागि दबाब दिने उद्देश्यले नोभेम्बर तेस्रो आइतबारका दिन विश्वभर मनाइने सडक दुर्घटनापीडित सम्झना दिवसको अवसर पारी बुटवलमा कार्यक्रम गरिएको हो।

कार्यक्रममा नेपाल अटोमोबाइल स्पोर्ट्स एसोसिएसन (नासा) फाउन्डेसनका अध्यक्ष गोविन्द भट्टराई, सुरक्षित यात्रा नेपाल अभियानका महासचिव दिनेश पाण्डे, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी निरीक्षक शोभा पाण्डेले सहभागी स्कुटी चालक महिलालाई प्रशिक्षण दिएका थिए।

कार्यक्रममा सहभागी एक सय २० बढी स्कुटी चालक महिलालाई दुर्घटना न्यूनीकरण र लेन सुरक्षाबारे प्रशिक्षण दिइएको थियो। प्रशिक्षणपछि निकालिकएो सचेतनामूलक र्‍याली मणिग्राम पुगेर पुनः योगीकुटीमा फर्किएको थियो।

प्रकाशित: ३ मंसिर २०८० २१:३६ | Sunday, November 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast