 
                            
                                            प्राज्ञिक, सीपयुक्त र कर्मशील मानवीय स्रोत विदेश पलायन हुनुलाई बौद्धिक पलायन भनिन्छ। देशबाट लाखौँको संख्यामा दक्ष तथा अदक्ष जनशक्ति पलायन भएको अवस्था छ। नेपालबाट यस्ता जनशक्ति पलायन हुने प्रमुख समस्याका रूपमा रहँदै आएको छ।
दैनिक रूपमा सयौँको संख्यामा विमानस्थलबाट बाहिरिएका समाचार प्रकाशित भइरहेका छन्। यसप्रति न सरकारको चासो छ न राजनीक पार्टीहरू न त नेपालका उद्योगपति र सरोकारवालाहरूको! ऊर्जावान् जनशक्तिको अनुसन्धान र श्रम स्वदेशमा प्रयोग गर्न सकेमात्र देश विकास सम्भव छ। लाखौँ नेपाली विदेशी भूमिमा बौद्धिक मन्थन, श्रम र पसिना बगाउन बाध्य भएका छन्।
युवा पलायन हुनमा प्रमुख दुई कारण देखिन्छ। पहिलो त विश्वव्यापीकरणले कुनै पनि देशको नागरिकलाई पलायन हुन रोक्न असम्भव छ। अर्कोचाहिँ देशको राजनीतिक अस्थिरता, नागरिकप्रति राज्य गैरजिम्मेवार हुनु हो। स्वदेशमा अवसर नपाएपछि विदेश भौँतारिनु स्वाभाविकै हो। पलायन कसरी रोक्ने त्यसतर्फ केन्द्रित हुनु प्रमुख चासोको विषय हुनुपर्छ। किनभने जबसम्म कुनै पनि देशका जनशक्तिले तन, मन, धन र देशभक्तिले ओतप्रोत भएर आफ्नो विज्ञता र श्रम स्वदेशमा खर्च गर्दैनन् तबसम्म देश विकास सम्भव छैन।
विश्वका विकसित राष्ट्रहरू आफ्ना जनशक्तिलाई बौद्धिक, सीपयुक्त र कर्मशील बनाउने कुरामा संवेदनशील हुन्छन्। सोहीअनुसार छोटो तथा लामो अवधिका शैक्षिक तथा प्राविधिक शिक्षा तथा तालिमको विकासमा देशको पुँजी लागानी गर्छन्। त्यतिमात्र होइन वैदेशिक जनशक्तिलाई आकर्षित गर्ने नीति अख्तियार गर्छन् र नियमित वा छात्रवृत्तिका रूपमा पर्याप्त धनराशि खर्च गर्छन्। अझै माथि उठेर ती जनशक्ति जब कर्मशील हुन्छन् तब आफ्नै देशले काम र नागरिकतासमेत दिएर स्वागत गर्छन्। मानवअधिकारको प्रत्याभूति भएका राष्ट्रहरूले अदक्ष जनशक्तिलाई पनि शरणार्थीका रूपमा पनि स्वागत गर्ने गरेको पाइन्छ।
त्यस्ता देशले जतिसक्दो बढी रोजगारी सिर्जना गर्ने लक्ष्य राखेर बजेट विनियोजन गरेका हुन्छन्। देख्दा मानव कल्याणकारी कार्य अर्थात् च्यारिटीमा देशको धनराशि खर्च गरेको डिङ फुक्छन् तर भित्री रहस्य भने ऊर्जावान् र कर्मशील जनशक्ति भित्र्याउने र देशको विकासमा लगाउने चतुर र धूर्त नीति अख्तियार गरेको प्रस्टै बुझ्न सकिन्छ।
यसरी बौद्धिक पलायन हुनमा राजनीतिक अस्थिरता कारक देखिन्छ। नेपालीले तीन पटक प्रमुख र अन्य ससाना आन्दोलनबाट राजनीतिक व्यवस्थामा परिवर्तन गर्न सफल त भए तर नेपालीको अवस्था परिवर्तन भएन।
अर्को कुरा, जीवनपयोगी शिक्षाको आकांक्षा रहे पनि अवसरको खोजी नै प्रमुख कारण हो। किनभने नेपालमा दक्ष मानवीय स्रोतले स्थान नपाउनु, सानोठूलो कामको खाडल बनाउनु, श्रमको कदर एवम् सम्मान नहुनु, सामाजिक सुरक्षाको ग्यारेन्टी नहुनु, श्रमबापतको जीवनयापनका लागि आवश्यक पारिश्रमिक नपाउनु आदि कारणले युवा पलायन भएको पाइन्छ। अर्कोतर्फ स्वदेशको तुलनामा विदेशमा आयआर्जन आकर्षक हुनु र भविष्य सुरक्षित गर्ने अभिलाषा पनि पलायनको कारण हो।
नेपाल सरकार पनि विदेशमा श्रम गरिरहेका नेपालीबाट प्राप्त विप्रेषणबाट वैदेशिक मुद्रामै मख्ख देखिन्छ। तर हेक्का रहोस् भर्खर पलायन भएकाले त जहाँ गए पनि आफ्नो संस्कृति र परम्परालाई आत्मसात् गर्लान् र जन्मभूमिप्रति मायाममता राख्लान्, आफन्तका लागि पनि विप्रेषण पठाउलान् तर दोस्रो पुस्ता जो विदेशी भूमिमै जन्मेका र त्यहाँको संस्कृति र सभ्यतामा रमाएकाले कसरी नेपालको माया गर्लान्? सोचनीय विषय बनेको छ। किनभने तत् तत् देशको आकर्षणले त नेपाली युवा पलायन भएका छन् भने दोस्रो पुस्ताका युवा आफ्ना पुर्खाको देशमा फर्कन सम्भव छैन।
सरकारले स्वदेशमा सिर्जना भएका रोजगारीमा नेपाली नागरिकलाई प्राथमिकता दिन नागरिकतालाई आधार मानेको देखिन्छ। तर पनि किन बौद्धिक पलायन रोक्न सकिएको छैन? विदेशी भूमिमा गरिने घरेलु कामदारदेखि बौद्धिक जनशक्तिले गर्ने काम नेपाली भूमिमा पनि गर्न किन गर्न नसक्ने? के नेपाली समाजको श्रमप्रतिको सम्मान फितलो भएको हो? के विदेशी भूमिमा श्रम गर्ने नेपाली दाजुभाइको जीवनयापन सम्मानजनक छ? प्रश्न गम्भीर छ।
यी प्रश्नमाथि विचार गर्दा पहिलो त नेपाल सरकारले शिक्षा क्षेत्रका लागि पर्याप्त मात्रामा बजेट विनियोजन गर्न सकेको छैन। कुल बजेटको कम्तीमा २० प्रतिशत बजेट शिक्षा क्षेत्रमा छुट्टयाउनुपर्छ। त्यसमध्ये देशको आवश्यकता पहिचान गरी अनुसन्धानमुखी शिक्षा र सीपयुक्त जनशक्ति तयार गर्ने नीति निर्माण गर्नुपर्छ।
नेपालमा १७ विश्वविद्यालय स्थापित भइसकेका छन्। भनिन्छ देशको विकासको खाका विश्वविद्यालयहरूको इर्दगिर्दमा कोरिन्छ। के हाम्रा विश्वविद्यालयहरू त्यसतर्फ लक्षित छन्? विश्वविद्यालयका अनुसन्धान केन्द्रहरू के त्यस्ता खाका कोर्न उद्यत छन्? के राज्यले पनि त्यो वातावरण बनाएको छ त?
अब विश्वविद्यालयहरूले परम्परागत सिकाइ वातावरणलाई हार्डवेयर तथा सफ्टवेयर प्रविधिले परिपूर्ण बनाउनुपर्छ। सिकारु मैत्री कक्षाकोठा जहाँ सिकारुले शिक्षण क्रियाकलाप रेकर्ड गर्ने र अपलोड गर्ने सुविधा होस्। उच्च क्षमताको इन्टरनेट सुविधाले युक्त कक्षाकोठा जुन कक्षाकोठामा हाइब्रिड, फिलिप्ड, ब्लेनडेड तथा हाइफ्लेस आदि सबै प्रकारका शिक्षण नमुना र विधिहरूको उपयोग गर्न सकियोस्। अर्थात् शिक्षणका लागि बहुमञ्चको वातावरण सिर्जना गर्न सकिने कक्षाकोठाको निर्माण गरिनुपर्छ। यसो गर्नसकेमा मात्र सीपयुक्त शैक्षिक जनशक्ति र ऊर्जावान् श्रमशक्ति उत्पादन गर्न सकिन्छ। अवधारणा, सञ्चार, संयोजन, सहकार्य, सिर्जनशीलता, सिर्जना र अभिलेखीकरण गर्नसक्ने ज्ञान र सीपले भरिपूर्ण बनाउन सक्नुपर्यो।
मानिसका दैनिक आवश्यकता पूरा गर्ने, समाजलाई योगदान गर्नसक्ने छोटा र दीर्घकालीन शैक्षिक कार्यक्रम तर्जुमा गरी सोहीअनुसारको पाठ्यक्रम तयार गर्नुपर्छ र त्यसलाई कडाइसाथ लागू गर्नुपर्छ।
सरकारले पनि शिक्षा र स्वास्थ्यलाई नि:शुल्क, पूर्णरोजगारीको व्यवस्था, विद्यालय तह पार गरेपछि अध्ययनसँगै रोजगारीको समेत सुनिश्चितता गरिनुपर्छ। कामलाई सानोठूलोका रूपमा नलिई श्रमको कदर गर्ने संस्कृतिको विकास गरिनुपर्छ। श्रमिकहरूको दैनिक गुजारा चल्ने पारिश्रमिकको व्यवस्था गर्न चुक्नु हुँदैन। मानिस स्वदेशमै गुजारा चल्ने र आफ्ना लालाबालाको शिक्षा र स्वास्थ्यमा चिन्ता लिनुनपर्ने अवस्था भएसम्म विदेशी भूमीमा श्रम र पसिना चुहाउने चाहना कसलाई होला र?
नेपालका प्राकृतिक स्रोत, वनजंगल, वन्यजन्तु, नदीनाला, जलाशय, जडीबुटी, खानी, पशुपन्छी, कृषि, पर्यावरण र परम्परागत प्रविधिसम्बन्धी शोधअनुसन्धानलाई पहिलो प्राथमिकता दिनुपर्छ। अनुसन्धानबाट प्राप्त निष्कर्षअनुसार नयाँ प्रविधिसँग जोडेर त्यसको प्रयोग, कच्चा पदार्थ उत्पादन, औद्योगीकरण अनि उत्पादन तथा वितरण गर्ने प्रणालीको विकास गर्नुपर्छ। सर्वप्रथम देशलाई सबै क्षेत्रमा आत्मनिर्भर बनाउनुपर्छ र त्यसपछि निर्यातलाई जोड दिनुपर्छ।
नेपालका अनुपम प्राकृतिक स्रोतलाई पर्यटनसँग जोड्नुपर्छ। खासगरी ग्रामीण पर्यटन र होम्स्टे पर्यटनलाई जोड्नुपर्छ। वैदेशिक लगानीका लागि बहुराष्ट्रिय कम्पनीलाई आकर्षित गर्ने वातावरण तयार गर्नुपर्छ भने नेपाली नोकरशाहीबाट हुने अनावश्यक झन्झटहरू हटाई सहज वातावरण बनाइदिनुपर्छ। भौतिक पूर्वाधार निर्माणलाई प्रमुख प्राथमिकतामा राख्नुपर्छ।
पर्याप्त मात्रामा रोजगारी सिर्जना गर्नुपर्छ। स्वदेशमै रोजगारी सिर्जना हुन सकेन भने वैध वा अवैध रूपमा सके अमेरिका, अस्ट्रेलिया, क्यानाडा तथा युरोपीय देश नभए खाडी मुलुक र मलेसिया त्यो पनि नभए भारततर्फ हुने बौद्धिक पलायनलाई किमार्थ रोक्न सकिँदैन।
जनशक्ति पलायनका कारण नेपालका हिमाल, पहाड तथा तराईका कृषियोग्य उब्जाउ जमिन बाँझो हुन थालेका छन्। खेतीपाती हुने स्थानमा बाँदर तथा जंगली जनावर नाच्न थालेका समाचार दैनिक प्रकाशित हुन थालेका छ्न्। पाखापखेराहरू शून्य हुन थाले। मानिस गाउँ छोडी बजार पस्न थाले। सहरबाट बिदेसिन थाले।
नेपाल हिमाल, पहाड, तराई र पाखापखेरा भएको देश हो। जबसम्म यी हराभरा हुँदैनन्, त्यसबाट हुने उत्पादनलाई उद्योगसँग एकाकार गर्न सकिँदैन तबसम्म देश विकासको कल्पना पनि गर्न सकिन्न। यसको विकास गर्न सरकारले ग्यारेन्टी गर्नसक्नुपर्यो। नेपालमै मल कारखाना तथा कृषि औजार कारखाना खोल्नुपर्यो। पर्याप्त मात्रामा जलविद्युत् उत्पादन गरी कृषिमा प्रयोग गर्नुपर्यो। परम्परागत रूपमा प्रयोग गरिने प्रांगारिक मललाई आधुनिक प्रविधिसँग जोडेर विकास र प्रयोगलाई प्राथमिकता दिनुपर्यो। पर्याप्त मात्रामा कृषि उत्पादन र त्यसलाई उद्द्योगसँग जोड्नुपर्यो। उत्पादन खपतका लागि बजारको राम्रो व्यवस्था गर्नुपर्यो। चिस्यान केन्द्रहरूको व्यवस्था हुनुपर्यो।
अन्त्यमा, देशको द्रुतर विकास गर्न सकेमा बौद्धिक पलायन रोक्न सकिन्छ। कुनै पनि देशमा व्यक्ति धनी तथा सम्मानित भएर हुँदो रहेनछ, समग्र देशको विकास र प्रशस्तिबाट नै त्यो देशले विश्वमा पहिचान कायम राख्न सक्दो रहेछ। अनि बौद्धिक पलायनलाई रोक्न सकिँदोरहेछ भन्ने कुरा विकसित देशबाट सिक्न अवेला गर्नु हुँदैन।
(प्रा.डा. कँडेल त्रिवि शिक्षाशास्त्र संकायका सहायक डिन हुन्।)


 
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
  
 
Worth reading