मुद्रास्फीति वाञ्छित सीमा बाहिर, रेमिट्यान्स र विदेशी मुद्रा सञ्चिति बढ्यो

हिमाल प्रेस २४ कार्तिक २०८० १५:०० | Friday, November 10, 2023
मुद्रास्फीति वाञ्छित सीमा बाहिर, रेमिट्यान्स र विदेशी मुद्रा सञ्चिति बढ्यो

काठमाडौँ– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिनाको आर्थिक तथा वित्तीय स्थिति विवरण सार्वजनिक गरेको छ। उक्त विवरणअनुसार गत असोज मसान्तसम्ममा मुद्रास्फीतिले वाञ्छित सीमा नाघेको छ भने विप्रेषण र विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार भएको देखिएको छ। शोधनान्तर स्थिति बचतमा छ।

राष्ट्र बैंकको प्रतिवेदनअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ७.५० प्रतिशत छ। चालु आर्थिक वर्षका लागि सरकारले मुद्रास्फीति ६.५० प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको छ। तर सरकारले राखेको मूल्यवृद्धिको अधिकतम् सीमाको लक्ष्यभन्दा वास्तविक मूल्यवृद्धि १ प्रतिशत बिन्दुले बढी देखिएको हो।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.३८ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८१ प्रतिशत रहेको छ। खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ३७.६३ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १८.२२ प्रतिशत, फलफूलको १४.०२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.२३ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११.९२ प्रतिशतले बढेको छ। तर, घ्यू तथा तेल उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ११.६१ प्रतिशतले घटेको छ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १५.५५ प्रतिशत, विविध वस्तु तथा सेवाको १२.११ प्रतिशत, शिक्षाको ९.१० प्रतिशत, घरायसी उपयोगका वस्तुको ८.०८ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ६.२५ प्रतिशतले बढेको छ।

त्यस्तै यातायात क्षेत्रमा १.६२ प्रतिशतको मूल्यवृद्धि देखिएको छ। गत असोज महिनामा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १०.२३, तराईको ५.६६, पहाडको ७.३८ प्रतिशत र हिमालको १०.२४ प्रतिशत रहेको छ।

यो अवधिमा विप्रेषण आप्रवाह ३० प्रतिशतले वृद्धि भइ ३ खर्ब ६५ अर्ब ३४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले बढेको थियो।
गत असोज मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख १३ हजार ३९७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४९ हजार २९७ रहेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमास अवधिमा सरकारको चालु खाता रू ५९ अर्ब ९ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रू ३५ अर्ब २४ करोडले घाटामा रहेको थियो। त्यस्तै वैदेशिक लगानी रू ३ अर्ब ३७ करोडले धनात्मक रहेको छ।

असोज मसान्तसम्मको शोधनान्तर स्थिति रू ९९ अर्ब ७ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रू १२ अर्ब ४३ करोडले बचतमा थियो।

गत असार मसान्तमा रू १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६.७ प्रतिशतले वृद्धि भई गत असोज मसान्तसम्ममा रू १६ खर्ब ४३ अर्ब ९ करोड पुगेको छ। चालु आर्थिक वर्षको तीन महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १२.४ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

पहिलो त्रैमासिक अवधिमा आयात १.७ प्रतिशतले बढेको छ भने निर्यात २.३ प्रतिशतले घटेको छ। कुल वस्तु व्यापार घाटा २.१ प्रतिशतले बढेको छ।

प्रकाशित: २४ कार्तिक २०८० १५:०० | Friday, November 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast