माटाका भाँडाले धानिएको पुस्तैनी जीवन

हिमाल प्रेस १ मंसिर २०८० ९:०२ | Friday, November 17, 2023
माटाका भाँडाले धानिएको पुस्तैनी जीवन

बाँके- बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१३ बुलबुलियास्थित मसानघाट टोलमा मोहमद अमिन ४४ वर्षदेखि माटाका भाँडा बनाउँदै आइरहेका छन्। उमेरले ५० नाघिसकेका अमिन बुबा र बाजेबाट माटाका भाँडा बनाउन सिकेको बताउँछन्।

आठ वर्षको उमेरदेखि नै बाजेसँगै माटो मुछेर जानी-नजानी भाँडाको आकार दिन सुरु गरेका उनले बुबाबाट भाँडालाई व्यावसायिक आकार दिन सिकेको बताए। माटोसँग अमिनको सम्बन्ध सानैदेखि गाँसिएको हुनाले उनी यसलाई नङमासुको सम्बन्ध भन्न रुचाउँछन्।

‘बुबा र बाजे दुवैलाई पछ्याउँदै माटो बोक्न जान्थेँ। माटोसँग उहाँहरू खेलेको देखेर मैले पनि सिकेँ। सानैदेखि माटोसँग खेल्दै, माटोलाई मथ्दै र आफूले चाहेको आकार दिँदै हुर्किएकाले माटोसँगको मेरो सम्बन्धलाई नङमासुको सम्बन्ध भन्न रुचाउँछु’, अमिनले विगत सम्झिँदै भने।

बुबाबाजेले नै माटोका भाँडा बनाउँदै बेचेर कमाएको पैसाले परिवार पाल्दै आएको देखेर आफूलाई पनि माटोकै भाँडा बनाउन रुचि जागेको अमिन बताउँछन्। ‘जे सिकायो त्यही सिक्ने त हो । मेरो बाउबाजेले मलाई माटोकै भाँडाकुँडा बनाएर बेच्न सिकाउनुभयो आज मैले त्यही सिकेको छु र मेरा छोराछोरीलाई पनि त्यही नै सिकाएको छु’, उनले भने, ‘माटोका भाँडा बनाउने हाम्रो पेसा थिएन र बाजेको पालादेखि यही गर्दै आएकले आज हाम्रा लागि यही नै पेसा बनेको छ।’

अमिनका अनुसार विगत वर्षभन्दा यस वर्षको दसैँतिहारमा माटाका भाँडाबाट खासै फाइदा हुन सकेन। अघिल्लो वर्षमा १५-१६ हजार रुपैयाँसम्म मुनाफा भएको भाँडाबाट यस वर्ष जम्मा पाँच-छ हजार रुपैयाँ आम्दानी भएको अमिनले बताए। ‘यो आम्दानीले कसरी वर्षभरिको खर्च जोहो गर्न सकिन्छ?’ निरास हुँदै उनले यस वर्ष दसैँतिहारमा भएको घाटाको कथा सुनाए।

अमिनका सात परिवार माटोका भाँडाबाट हुने कमाइमा निर्भर छन्। माटो र माटो पकाउनलाई चाहिने भुस ओसार्नका लागि उनले तीन घोडा पालेका छन्। ती घोडाको खर्च पनि त्यही भाँडाबाट कमाइने पैसाबाट जोहो गर्ने गरेको अमिन बताउँछन्।

‘सात जनाको परिवारसँगै तीनवटा घोडाको खर्च पनि यिनै भाँडा बिक्री गरेर जोहो गर्नुपर्छ। भाँडाको व्यापार अघिल्ला वर्षको तुलनामा घट्दै गइरहेको छ’, उनले भने, ‘यस वर्ष त ह्वात्तै घट्यो । यस्तै हो भने हाम्रो पेसा धरापमा पर्छ।’

अमिनले जस्तै सुफिया कसगरले पनि माटोका भाँडा बेचेर कमाएको पैसाले छ जनाको परिवार धान्दै आएका छन्। कसगर भाँडा बनाउन सासूबाट सिकेको बताउँछन्। नेपालगञ्ज उपमहागनर पालिका-५ स्थित मसानघाट टोलकी उनले आफूसँगै दुई छोरीलाई पनि माटोबाट भाँडा बनाउन सिकाए।

पुख्यौली पेसालाई जोगाउन सुफियाले भाँडा बनाएर बेच्ने गर्छन्। भाँडाबाट हुने आम्दानी र मुनाफाका विषयमा अमिनको भन्दा फरक छैन उनको भनाइ। गत वर्षको दसैँतिहारमा १३ हजार रुपैयाँको व्यापार गरेकी सुफियाले १० हजार रुपैयाँ नाफा कमाएको बताइन्। तर यस वर्ष भने जम्मा पाँच हजार रुपैयाँ जतिको नाफा भएको उनको भनाइ छ।

अमिनको जस्तै सुफियाको पनि तीन पुस्तादेखि माटोका भाँडाले जीवन धानिँदै आएको छ। तर पछिल्लो समय व्यापार राम्रो नभइदिँदा आम्दानी घट्दै गएकाले पेसाको चिन्ता त छँदैछ साथसाथै परिवारको गुजारा कसरी गर्ने भन्ने पिरले सताउन थालेको सुफिया बताउँछिन्।

‘हामीले जानेको काम भनेकै माटोका भाँडा बनाएर बेच्ने हो। तर यसको व्यापार बढ्नुको साटो घट्दै गइरहेको छ’, उनले भनिन्, ‘आफूसँगै आफ्ना पुस्ताको चिन्ता लागिरहेको छ।’ सुफियाले यस वर्षको दसैँतिहारका लागि एक ट्रली माटोका भाँडा बनाएकी थिइन्। तर उनले सोचेजस्तो नाफा हुन सकेन।

बुलबुलियास्थित मसानघाट टोलमा माटोका भाँडा बनाउने कसगर झण्डै २१ घरपरिवारका छन्। तीन पुस्तादेखि माटोका भाँडा बनाउँदै र बेच्दै गरेका कसगरले यो पेसालाई पुख्र्यौली पेसाका रूपमा चिनाउँदै आइरहेका छन्।

कसगरका अहिलेका पुस्ताले पनि यही पुस्तैनी पेसालाई अँगालिरहेका छन्। पहिला मनग्य आम्दानी हुँदै आएको उक्त पेसा कोभिड-१९ पछि भने ओरोला लाग्दै गएको कसगरहरूको भनाइ छ।

माटोका भाँडा बनाउनलाई कसगर बाँकेको कम्दीस्थित कट्लिया गाउँबाट माटो ल्याउने गर्छन्। एक ट्रली माटोको मूल्य साढे चार हजार पर्ने गर्दछ। अमिन र कसगरको जस्तै पप्पु कसगरको पनि आफ्ना सातजना परिवारको साँझ-बिहानको छाक माटोका भाँडामै भर परेको छ।

उमेरले झण्डै चार दशक नाघिसकेका पप्पुको भने चार पुस्ताले यो पेसालाई अँगाल्दै आइरहेका छन्। पप्पुको सातजनाको परिवारमध्ये छोराले फुर्सदमा ज्यालादारीको काम गर्ने गछृन् । तर माटोका भाँडा बनाउने समयमा परिवारलाई सघाउने उनको भनाइ छ।

पप्पुले भने, ‘फुर्सदको समयमा छोराले ज्याला मजदूरी गर्ने गर्छ र तर जब माटो मुछेर भाँडा पकाउनुपर्ने हुन्छ त्यतिखेर छोराले पनि ज्यालामजदुरीको काम छाडेर हामीसँगै भाँडा बनाउन सहयोग गर्छ।’

एक ट्रली माटोको मूल्य चार हजार रुपैयाँ तिर्दै आएका कसगरहरूले यसै वर्षदेखि माटोको मूल्य बढेर रु साढे चार हजार तिरेको पप्पु, मोहम्मद र सुफियाले बताए। उनीहरूका अनुसार माटो बिक्री गर्ने साहुले यसै वर्षदेखि मूल्य बढाएपछि साढे एक ट्रलीको मूल्य साढे चार हजार भएको हो।

काँचो माटोका भाँडा तयार भइसकेपछि पकाउन भुस, गोबरको गुइँठा र दाउराको प्रयोग गर्ने गरिन्छ। ‘पहिला-पहिला गोबरको गुइँठामा भाँडा पकाइन्थ्यो तर अहिले पशुाचौपाया पाल्न छाडेकाले गोबर पनि पाउन छाडेको छ’, सुफियाले भनिन्, ‘हिजोआज गोबरको साटो धानको भुस अथवा दाउरामा भाँडा पकाएर तयार गर्ने गर्छौँ।’

एक क्विन्टल दाउरालाई एक हजार रुपैयाँ पर्दछ। माटोका भाँडा तयार गर्नलाई दुईपटक पकाउनुपर्ने हुन्छ। धानको भुस पाउन हम्मेहम्मे पर्न थालेको हुनाले कसगरहरू प्रायः दाउरामा नै माटाका भाँडा पकाउने गरेको सुफियाको भनाइ छ।

दुई रुपैयाँदेखि दुई सय ५० सम्म मूल्य पर्ने माटोका भाँडामा बत्ती बाल्नलाई प्रयोग गरिने दियो, दही जमाउने आरी, खुतुर्के, पानी राख्नलाई प्रयोग गरिने गाग्री, घैँटो, सुराही (पानी चिसो बनाउनलाई प्रयोग गरिने भाँडा) लगायत अन्य भाँडाकुँडा बनाइन्छन्।

माटाका भाँडा सुकाउन नमिल्ने र भिज्ने भएको हुनाले वर्षाको मौसममा चार महिना कसगरले भाँडा बनाउनु हुँदैन। त्यो चार महिनामा मात्रै उनीहरू दैनिकीरूपमा ज्याला मजदूरीको काम गरेर साँझ-बिहानको छाकको जोहो गर्ने गर्छन्।

          रुपनी जिएम/रासस

प्रकाशित: १ मंसिर २०८० ९:०२ | Friday, November 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast