रास्वपा केन्द्रीय कार्यालय
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी मंसिर २, ३, ४ गते देशव्यापी घरदैलो कार्यक्रम गर्ने भएको छ। बिहीबार बसेको केन्द्र्रीय समिति र संसदीय दलको संयुक्त बैठकको निर्णय सुनाउँदै महामन्त्री मुकुल ढकालले ०७९ मंसिरमा भएको चुनावपछिको घरदैलो कार्यक्रम गरिने जानकारी दिए।
‘चुनावपछि पनि घरदैलो हुनुपर्छ। हुन त हामी जनतासँगै छौँ। तर, मंसिर २, ३, ४ गते चुनावपछिको घरदैलो कार्यक्रम राखेका छौँ,’ उनले भने। त्यस्तै, बैठकले मंसिर ११, १२, १३ गते महोत्तरीको जलेश्वरमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक राखिएको उनले बताए।
यसअघि, कात्तिक २२, २३ गते राखिएको बैठक भूकम्पका कारण सारिएको थियो। बैठकमा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। उक्त बैठकमा महाधिवेशनबारे छलफल हुने उनले बताए। तर, महाधिवेशन प्रक्रिया आजैदेखि सुरु भएको मान्न सकिने ढकालको भनाइ छ। बैठकमा चुनावको एक वर्षको समीक्षा पनि गरिने उनले बताए।





