 
                             
                                            काठमाडौँ– बीमामध्यस्थकर्ता बन्न अब परीक्षा दिनुपर्ने भएको छ। मध्यस्थकर्ता बन्न चाहनेले इजाजत प्राप्त गर्नुअघि तोकिए बमोजिमको परीक्षा उत्तीर्ण गर्नुपर्ने भएको हो। बीमा प्राधिकरणले बीमा मध्यस्थकर्ताका लागि गत कात्तिक १७ गतेदेखि अनलाइन परीक्षा सुरु भएको जनाएको छ। त्यसैले अब अभिकर्ताको इजाजत (लाइसेन्सका प्राप्त गर्न परीक्षा दिनुपर्ने भएको छ।
विगतमा बीमा मध्यस्थकर्ताको लाइसेन्स लिन परीक्षा दिनुपर्ने व्यवस्था थिएन। नयाँ कानुनअनुसार परीक्षामा सहभागी हुने इच्छुक व्यक्तिले १२ पास गरेको हुनुपर्ने प्राधिकरणले जनाएको छ। कुनै समय नेपालमा बीमा अभिकर्ताहरूको संख्या ५ लाखभन्दा बढी थियो। उक्त संख्या धेरै भएको भन्दै बीमा क्षेत्रको गुणस्तरीयतामा जोड दिन विभिन्न क्रियाकलाप गर्दै आएको नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए।
उनका अनुसार गत कात्तिकदेखि प्राधिकरणले बीमा अभिकर्ता बन्न परीक्षा प्रणाली कार्यान्वयनमा ल्याएसँगै जोकोही व्यक्ति अभिकर्ता बन्ने बाटो बन्द भएको छ। बीमाको अभिकर्ता बन्न नेपालमा सजिलो प्रक्रिया भएपछि विकृति बढेको उनले बताए। ‘सक्रिय अभिकर्ताको संख्या भने डेढ लाख मात्रै थियो। छिमेकी मुलुक भारतमा अभिकर्ता बन्न धेरै गाह्रो छ। नेपालमा पनि अब सिस्टममा चल्नुपर्छ’ उनले भने।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 