बझाङमा ‘अस्थायी भूकम्प मापन केन्द्र’ निर्माण

हिमाल प्रेस २४ कार्तिक २०८० १०:२५ | Friday, November 10, 2023
बझाङमा ‘अस्थायी भूकम्प मापन केन्द्र’ निर्माण

काठमाडौँ- पछिल्लो समय नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा भूकम्प जाने क्रम बढेसँगै बझाङ सदरमुकाम चैनपुरमा ‘अस्थायी भूकम्प मापन केन्द्र’ निर्माण गरिएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले गत असोज १६ गते बझाङ सदरमुकाम चैनपुर केन्द्रबिन्दु बनाएर ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएपछि अस्थायी भूकम्प मापन केन्द्र निर्माण गरेको हो।

भूकम्प मापन केन्द्रका भूकम्पविद् डा मुकुन्द भट्टराईले बझाङमा अस्थायी भूकम्प मापन केन्द्र निर्माण गरिएको जानकारी दिए। नेपालमा विसं २०३७ मा ललितपुरको फूलचोकीडाँडामा पहिलो भूकम्प मापन केन्द्र निर्माण गरिएको थियो।

बझाङमा अस्थायी भूकम्प मापन केन्द्र निर्माण भएसँगै नेपालभर ४३ स्टेशनबाट भूकम्प मापन हुँदै आएको छ। विस २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पपछि मापनका लागि विभिन्न देशको सहयोगमा जोखिममा रहेका नेपालका २० स्थानमा ‘भूकम्प मापन केन्द्र’ निर्माण गरिएका थिए।

विसं २०७२ पछि नेपाल सरकारले भूकम्पको जोखिमलाई दृष्टिगत गरी चीन सरकारको सहयोगमा १०, जापान सरकारको सहयोगमा आठ र थाइल्याण्डको सहयोगमा दुई स्थानमा ‘भूकम्प मापन केन्द्र’ निर्माण गरेको छ।

हाल नेपालको झापा, उदयपुर, संखुवासभा, सोलुखुम्बु, रसुवा, लमजुङ, मुस्ताङ, डोल्पा, बाजुरा, दार्चुला, सिन्धुली, बारा, चितवन, नवलपरासी, स्याङ्जा, म्याग्दी, कपिलवस्तु, रोल्पा, महोत्तरी, दाङलगायत जिल्लाका विभिन्न स्थानमा केन्द्र निर्माण गरिएका छन्।

गोरखा भूकम्पअघि नेपालका २२ केन्द्रले मात्र भूकम्प मापन गर्दै आएका थिए। राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले भूकम्प मापन केन्द्र निर्माण भएसँगै देशभर जाने भूकम्पको तथ्यांक मापन गर्न सहज हुने बताए।

‘भूकम्प मापन गर्ने धेरै स्टेशन निर्माण भएसँगै सानाभन्दा साना भूकम्पसमेतको मापन गर्न सहज भएको छ’, उनले भने। नेपाल हिमालय हिमशृंखलामा रहेको मुलुक भएकाले पनि यस क्षेत्रमा अन्य क्षेत्रको तुलनामा धेरै भूकम्प जाने गरेको केन्द्रले जनाएको छ।

हाल राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौर र राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतले देशरभरको भूकम्पका बारेमा जानकारी दिने गरेको छ।

प्रकाशित: २४ कार्तिक २०८० १०:२५ | Friday, November 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast