फेस्टिभलमा थाहा वृत्तचित्रसहित कुनकुन फिल्म देखाइदैछ?

हिमाल प्रेस ७ मंसिर २०८० १३:०८ | Thursday, November 23, 2023
फेस्टिभलमा थाहा वृत्तचित्रसहित कुनकुन फिल्म देखाइदैछ?

काठमाडौँ- मकवानपुरको थाहा नगरपालिकामा मंसिर ९ गतेदेखि हुने ‘थाहा फिल्म फेस्टिभल’मा थाहा वृत्तचित्र प्रदर्शन गरिने भएको छ।

आयोजकका अनुसार करिब ३६ मिनेटको वृत्तचित्रमा थाहाका प्रमुख पर्यटकीय स्थल चित्लाङ, बज्रवाराही, टिस्टुङ, आग्रा, दामन र पालुङका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदालाई समेटिएको छ। वृतचित्रको निर्देशन थाहा कला केन्द्रका सञ्चालक सानोबाबु मोक्तानले गरेका छन्।

पालिकाका सबै वडाका पर्यटकीय क्षेत्र समेटिएको वृत्तचित्र महोत्सवको पहिलो दिनमै देखाइने आयोजकले जनाएको छ।

थानकोटबाट चन्द्रागिरी, चित्लाङ हुँदै नगर प्रवेश गर्ने गन्तव्यदेखि टिस्टुङ, आग्रा, दामन, पालुङ र बज्रवाराही लगायतस्थानको भ्रमण गर्न सकिने गरी वृतचित्र तयार पारिएको निर्देशक मोक्तानले बताए।

ड्रोनसमेतको सहायता लिई गंगा राई र भीम तामाङले फिल्मको छायांकन गरेका छन्। कुमार नेगीको लेखन रहेको वृत्तचित्र प्रमोद जोशी र राजीवकुमार स्याङ्तानको परिकल्पना, सुनिता राईको स्वर र निश्चल शाक्यको व्यवस्थापनमा तयार पारिएको छ।

त्यस्तै फेस्टिभलमा अन्य नेपाली फिल्म ‘राधा’, ‘ऐना झ्यालको पुतली’, ‘बुलबुल’, ‘आमा खाण्डो’, ‘डेसान’ र ‘प्रकाश’ निःशुल्क प्रदर्शन गरिनेछ।

सुवर्ण थापा निर्देशित फिल्म ‘द सिक्रेट्स अफ राधा’ मा वेपत्ता भएका पतिको खोजीमा संघर्षरत महिलाको कथा समेटिएको छ। सृष्टि श्रेष्ठ मुख्य भूमिका रहेको फिल्ममा दयाहाङ राई, निश्चल बस्नेत, सौगात मल्ल, खगेन्द्र लामिछानेलगायत कलाकारको अभिनय छ।

फिल्म ‘ऐना झ्यालको पुतली’ मा पहाडी जिल्लाको गाउँमा पढ्ने १३ वर्षीया किशोरीले शिक्षाका लागि गर्ने संघर्षलाई देखाइएको छ। साथै दिदी र भाइको भावनात्मक सम्बन्धको कथा पनि छ। सुजित बिडारीको डेब्यु निर्देशित फिल्ममा सिरु बिष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, राज थापा, बिशा चामलिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठलगायत कलाकारले अभिनय गरेका छन्।

विनोद पौडेल निर्देशित फिल्म ‘बुलबुल’ मा टेम्पो चालक महिलाको संघर्ष प्रस्तुत गरिएको छ। फिल्ममा स्वस्तिमा खड्का र मुकुन भुसाल मुख्य भूमिकामा देखिएका छन्। अन्य कलाकार जोयश पाण्डे, लक्ष्मी बर्देवा, दिपक क्षेत्री, एलिना कार्की लगायतको अभिनय छ।

मुस्ताङी भाषाको पहिलो नेपाली फिल्म हो ‘आमा खाण्डो’। फिल्ममा मुस्ताङबाट जाडो छल्न सहरतर्फ हिँडेकी एक आमाको संघर्ष कथा प्रस्तुत गरिएको छ। आमा खाण्डोको नेपाली अर्थ परी आमा भन्ने हुन्छ।  फिल्ममा पेमा डोल्कर, कर्णवीर बलिया, कार्चुङ, न्यिमा डोल्मा, छिरिङ ढोन्डुप, लाक्पा वाङदी, सम्तु गुरुङ भुम्चुङलगायतको अभिनय छ। ढोन्डुप छिरिङको लेखन र निर्देशनमा बनेको छ।

नम्रता सापकोटा मुख्य भूमिकामा रहेको फिल्म ‘डेसान’ले विवाहेत्तर सम्बन्धको कथा भन्छ।

फिल्ममा नारी संवेदना, पारिवारिक प्रेमका साथै असमझदारीको कथा छ। अविश्वासले वैवाहिक जीवनमा उत्पन्न कलहको कथा फिल्ममा नम्रतासँगै भोला सापकोटा, निशान चौहान, पुनम थापा, कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमिशा सारु मगरलगायतको अभिनय छ। फिल्म कमल एक्चै मगरले निर्देशन गरेका हुन्।

फिल्म ‘प्रकाश’ मा जुम्लाका एक युवकको शिक्षक बन्ने सपनालाई देखाइएको छ। फिल्मका निर्देशक दिनेश राउत हुन्। प्रदीप खड्का र दिया मास्के मुख्य भूमिकामा रहेको फिल्ममा रेणु योगी, प्रकाश घिमिरे, राजन खतिवडालगायत कलाकारले अभिनय गरेका छन्।

फेस्टिभलमा प्रदर्शन गरिने सबै फिल्म पालुङ जेसीजको हलमा देखाइनेछ। थाहा कला केन्द्र आयोजना गरेको फिल्म फेस्टिभल मंसिर १५ गतेसम्म चल्नेछ।

प्रकाशित: ७ मंसिर २०८० १३:०८ | Thursday, November 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast