मदन भण्डारीका प्राध्यापकले पाएनन् तलव, चार महिनादेखि पठनपाठन ठप्प

हिमाल प्रेस ८ मंसिर २०८० ७:५९ | Friday, November 24, 2023
मदन भण्डारीका प्राध्यापकले पाएनन् तलव, चार महिनादेखि पठनपाठन ठप्प

मकवानपुर- मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको पठनपाठन ठप्प भएको छ।

प्रतिष्ठानमा कार्यरत प्राध्यापकले तलब र भत्ताबापतको रकम नपाएको जनाउँदै विरोधमा उत्रिएपछि १५ दिनदेखि पठनपाठन ठप्प भएको हो। बागमती प्रदेशको गौरवको आयोजनाका रूपमा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्राध्यापक कल्याणकारी समिति हेटौँडाका अध्यक्ष विश्वास सापकोटाले भने, ‘प्रतिष्ठानमा सेवारत २४ जना प्राध्यापकले विगत चार महिनादेखि तलब र भत्तालगायतका अन्य सुविधाबापतको रकम पाएका छैनन्।’

उनका अनुसार प्रतिष्ठानमा गत कात्तिक २२ गतेदेखि पठनपाठन ठप्प छ। अध्यक्ष सापकोटाले भने, ‘प्रतिष्ठानले प्राध्यापकको दैनिकी नै चलाउन समस्या पर्ने अवस्थामा पुग्दासमेत तलब भत्ता र अन्य सुविधाबापतको रकम भुक्तानी नदिएकाले ‘पेनडाउन’ गरेका हौँ ।’

प्राध्यापकहरूले ‘पेनडाउन’ गरेसँगै पठनपाठन पूर्णरूपमा ठप्प भएको छ। पठनपाठन बन्द हुँदा विद्यार्थी मर्कामा परेका छन्। चालु आर्थिक वर्षको पहिलो महिना (साउन)को तलब सुविधाबापतको रकम पनि संघर्षपूर्ण तवरबाट प्राप्त गरेको र त्यसयताको रकम भुक्तानीमा प्रतिष्ठानले कुनै चासो नदिएको उनले बताए।

तलब भत्तालगायतका सुविधाबापतको रकम माग गर्दा प्रतिष्ठानबाट मन्त्रालयले पैसा नपठाएको भन्ने जवाफ दिँदै आएको जनाइएको छ।

प्रतिष्ठानका शिक्षाध्यक्ष डा सुदर्शन शेरचनले प्रदेश सरकारले छात्रवृत्तिबापतको रकम प्रतिष्ठानमा नपठाउँदा प्राध्यापकहरूको तलब भत्ताबापतको रकम भुक्तानी दिन समस्या भएको बताए।

प्रतिष्ठानले स्नातक तहको नर्सिङ, फार्मेसी, पब्लिक हेल्थ र ल्यावरोटरी विषयमा चिकित्सा शिक्षा आयोगले तोकेको कोटामा विद्यार्थी सहभागी गराएर अध्यापन गराइरहेको छ।

प्रकाशित: ८ मंसिर २०८० ७:५९ | Friday, November 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast