दुर्गा प्रसाईं। फाइल तस्बिर।
काठमाडौँ- नेपाल प्रहरीको विशेष कार्यदल (एसटीएफ) टोलीले नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईको घर घेराउ गरेको छ।
आज बिहानैबाट प्रहरीले प्रसाईको भक्तपुरको ठिमीमा रहेको घरलाई घेराउ गरेको प्रसाईको सचिवालयले जनाएको छ।
घर अगाडी करिब १ सय जना प्रहरी भेला भएको महाअभियानका सचिवालयका सदस्य विनोद बजगाईंले जानकारी दिए। ‘अहिले बाक्लो संख्यामा सुरक्षाकर्मी घरमै पुगेका छन्। किन हो थाहा भएन।’ बजगाईंले भने।
उनका अनुसार आज महाअभियानको प्रदर्शन काठमाडौँको तीनकुनेमा राखिएको छ। काठमाडौँ प्रशासनले भने प्रसाईंको अभियानलाई तीनकुनेमा प्रदर्शनको अनुमति नदिइएको भन्दै विज्ञप्ति जारी गरेको छ।
यता प्रहरीले प्रसाईका कार्यकर्तालाई समेत पक्राउ गरेको बजगाईले बताएका छन्। हालसम्म छ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको जनाइएको छ। ‘पक्राउ किन गरियो थाहा छैन। तर हामी निकट मानिसलाई पक्राउ गरिएको सत्य हो।’
यता प्रहरीले भने हिजो बल्खुमा झडपमा सहभागी हुनेलाई पक्राउ गरिएको जनाएको छ। पक्राउ गरेका व्यक्तिको नाम भने खुलाइएको छैन। हिजो प्रसाईसँगै एमाले निकट युवा संघले भने राजधानीमा प्रदर्शन गरेको थियो।
युवा संघले तीनकुने र महाअभियानले बल्खुमा प्रदर्शन गरेको थियो। तर आज महाअभियानले तीनकुनेमा कार्यक्रम राखेको छ।
प्रसाई सचिवालयका अनुसार अहिले १२ बजेबाट कार्यक्रमको तय भएको थियो। तर सुरक्षाकर्मीको घेराउका कारण प्रसाई निजी निवासबाट निस्कन सकेका छैनन्।





