काठमाडौँ- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले सबै जलविद्युत आयोजनाको विद्युत खरीद बिक्री सम्झौता (पीपीए) गर्नुपर्ने बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार गरेको निजी क्षेत्रसँगको छलफलमा इप्पान अध्यक्ष कार्कीले १० वर्षमा २८ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य हासिल गर्न सम्भाव्य सबै विद्युत् आयोजनाको पीपीए गरेर ऊर्जा दशक अवधिभर केही नीति निलम्बन गर्नुपर्ने बताएका हुन्।
भारत सरकारले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् खरीद गर्नेसम्बन्धी सम्झौताको स्मरण गराउँदै अध्यक्ष कार्कीले सरकारले उक्त लक्ष्य हासिल गर्न वन र भूमिसँग सम्बन्धित केही नीति नियम निलम्बन गरेर जानुपर्ने बताएका हुन्।
नेपाल सरकारले १५ हजार मेगावाट विद्युत् निर्यात गर्ने गरी ऊर्जा विकास दशक घोषणा गरेर समग्रमा १० वर्षमा २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य निर्धारण गर्दा ४६ खर्ब रुपैयाँ लगानी आवश्यक पर्ने भएकोले यसका लागि एकल अंकको ब्याजदर कायम गरी ऊर्जा क्षेत्रमा गरिने लगानीको सीमा वार्षिक २ प्रतिशतका दरले बढाउँदै लग्नुपर्ने पनि कार्कीले बताए।
४६ खर्ब रुपैयाँ स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट मात्र जुटाउन सम्भव नभएकोले प्रत्यक्ष विदेशी लगानी (एफडीआई)लाई पनि स्वागत गर्ने नीति सरकारले लिनुपर्ने उनको भनाइ थियो।
निजी क्षेत्रको हित अनुकुल नरहेको विद्युत् विधेयक, २०८० लाई निजी क्षेत्रमैत्री बनाएर मात्रै संसदबाट पारित गराउन प्रधानमन्त्रीले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने पनि कार्कीले धारणा राखे।



