काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले भूगर्भविद्हरूले पश्चिम नेपालमा अझै ठूलो भूकम्प जाने बताएको भन्दै सजग हुन सबैलाई आह्वान गरेका छन्। जाजरकोट भूकम्पको क्षति निरीक्षणका लागि भूकम्प प्रभावित क्षेत्रमा पुगेर काठमाडौँ फर्किने क्रममा दाहालले यस्तो बताएका हुन्।
उनले भने, ‘यहाँको स्थितिको बारेमा विज्ञहरूको जे भनाइ छ, त्यसले अझ बढी सतर्कता अपनाउनुपर्ने अवस्था छ। अझ धेरै भूकम्प जाने सम्भावनाबारे भूगर्भविद्हरूले इंगित गरिरहेका छन्। सरकार यसतर्फ पनि गम्भीर छ। सबै जना सजग रहनू।’
गएरातिको भूकम्पबाट धेरै क्षति भएको बताउँदै उनले थपे, ‘हजारौं घर क्षति भएको मैले प्रत्यक्ष देखेँ। जाजरकोट र रुकुमका प्रभावित क्षेत्र हेरेँ। प्रत्यक्ष रुपमा मैले आफ्नै हेलिकोप्टरमा घाइतेको उद्धार गरेको छु।’
दाहालले आफू गएको हेलिकप्टर पीडितको उद्धारका लागि छोडेर नियमित उडानमार्फत काठमाडौँ फर्किएका छन्। दाहाल बिहान ६ बजे भूकम्प प्रभावित क्षेत्रका लागि काठमाडौँबाट गएका थिए।
‘आज बिहान ६ बजे म काठमाडौंबाट हिँडेको हुँ,’ उनले भने, ‘अहिले पनि तीनवटा हेलिकोप्टर लगातार उद्धारमा लागेको छ।’ भोलि बिहान ८ बजे मन्त्रिपरिषद् बैठक बस्ने र आवश्यक निर्णय गर्ने उनको भनाइ छ। गएराति जाजरकोट केन्द्रविन्दु ६.४ रेक्टरको भूकम्प गएको थियो। भूकम्पका कारण १५७ जनाको निधन भइसकेको छ।





