नौमती बजाउन महिलालाई भ्याइनभ्याई

हिमाल प्रेस ११ मंसिर २०८० ११:२५ | Monday, November 27, 2023
नौमती बजाउन महिलालाई भ्याइनभ्याई

गुल्मी- गुल्मीको मदाने गाउँपालिका–६ की सुस्मिता घर्तीलाई बाजा बजाउन भ्याइनभ्याई छ। नौमती बाजा बजाउनेमध्ये एक उनी समूहमा बाजा बजाउँदै हिँड्छिन्।

महिला पनि अगाडि बढ्नुपर्छ भन्ने ध्येयले आफू बाजा बजाउँदै समूहमा हिँड्न थालेको उनले बताए। ‘महिला पनि सीप सिकेर अगाडि बढ्नुपर्छ’, उनले भनिन्, ‘हामी बाजा बजाएर अगाडि बढेका छौँ।’ उनी आजभोलि नौमती बाजाको समूहमा बाजा बजाउँदै जिल्ला सदरमुकाम पनि पुग्न थाले।

सोही ठाउँका वसन्ता जीसीले पुरुष विदेश गएर गाउँमा कम रहेकामा आफूहरूले बाजा बजाउन सिकेको बताइन्। ‘गाउँमा वृद्धवृद्धामात्र हुनुहुन्छ, उहाँहरूले बाजा बजाउन सक्नुहुँदैन’, उनले भनिन्, ‘पुरुष कम हुन थालेपछि हाम्रै समूह बनाएर बाजा बजाउन थालेका हौँ।’

गाउँमा बाजा बजाउने प्रचलन रहेकामा यसलाई लोप हुन नदिन महिलाले सीप सिकेको उनले बताइन्।

उनीहरू मात्र होइन, नौमती बाजाको सबै समूह नै महिलाको छ। विगतदेखि हालसम्म पुरुषले मात्र बजाइरहेको बाजामा समूहमा सबै महिला हुँदा यसलाई अचम्मको रूपमा हेरिएको छ। मदाने महिला नौमती बाजा समूह नामले परिचित यस समूहमा पुर्कोटदहका वसन्ता जिसी, सुस्मिता घर्ती, माया परियार, रिमा विक, पवित्रा विक, सीता विक, असिम विक, जुना नेपाली, रञ्जु नेपाली, रमा विक र सिर्जना विक गरी ११ जना रहेका छन्। अहिले यो समूहलाई जिल्लाका विभिन्न ठाउँमा बाजा बजाउन भ्याइनभ्याई छ।

विवाह, व्रतबन्ध, विभिन्न मेलापर्व तथा उत्सवमा बजाइने नौमती बाजा मुख्य बाजा हो। पश्चिमेली संस्कृतिको प्रभाव र युवा पुस्ताले चासो नदिँदा नौमती बाजा लोप हुने स्थितिमा छ। तर गुल्मीको मदाने गाउँपलिका–६ पुर्कोटदहका महिला यसको संरक्षणमा जुटेका छन्।

बाजा बजाउने चलन पहिलेदेखि चलिआए पनि ग्रामीण भेगमा यो व्यावसायिक बन्न सकेको थिएन। तर मदाने गाउँपालिकाका यी महिलाले यसलाई व्यावसायिक बनाएका छन्।

यतिबेला मदाने गाउँपालिकाको यो समूह बाजा बजाउन गाउँपालिका, छिमेकी पालिका र जिल्ला सदरमुकाम तम्घाससम्म पुग्दै आएको छ । मदाने महिला नौमती बाजा समूहका अध्यक्ष जिसीले आफूहरूलाई एक दिन बाजा बजाएबापत २५ हजारदेखि ३५ हजारसम्म दिने गरेको बताइन्।

मदाने गाउँपालिकाले नौमती बाजाको संरक्षणका लागि महिलालाई सीप सिकाएको थियो। सीपसँगै गाउँपालिकाले व्यावसायिक बनाउनका लागि नौमती बाजा वितरण पनि गरेको थियो।

मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्काले बाजाको संरक्षण, महिलालाई सीप, बाजा बजाउने पेसालाई व्यावसायिक र गाउँपालिकाको पहिचानका लागि यो कदम अगाडि बढाएको बताइन्। ‘हामीले महिलालाई अगाडि बढाउन सीप सिकाएका हौँ’, उनले भनिन्, ‘अहिले महिलाले बजाइरहेको बाजा व्यावसायिक र पहिचान बन्यो, खुसी लागेको छ।’

परम्परागत संस्कृतिको संरक्षण गर्नका लागि नौमती बाजाको जगेर्ना गरेको उनको भनाइ छ। उनले यस आर्थिक वर्ष पनि गाउँपालिकाले बजेट विनियोजन गरेर अगाडि बढेको बताइन्।

महिलाले खुसीका साथ आफैँ लागेर बाजा बजाउने पेसालाई व्यावसायिक बनाएकामा संस्कृति संरक्षणमा टेवा पुगेको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले बताए।

प्रकाशित: ११ मंसिर २०८० ११:२५ | Monday, November 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast