 
                             
                                            काठमाडौँ– भारतमा उडान भर्ने एअरलाइन्सहरूमध्ये सन् २०२३ को लागि नेपाल वायुसेवा निगमले ‘उत्कृष्ट राष्ट्रिय ध्वजावाहक’ सम्मान पाएको छ। भारतमा लामो समयदेखि ‘टुरिजम ब्रान्डिङ’ तथा प्रचार–प्रसार गर्दै आएको मुसाफिर मिडिया हबले निगमलाई उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मानको लागि छनोट गरेको जनाएको छ।
सन् २०२३ को नोभेम्बर १६ मा दिल्लीमा आयोजित एक कार्यक्रममा उक्त सम्मान घोषणा गरिएको हो। सम्मान प्राप्त भएपछि निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले अझै जिम्मेवारीपूर्वक काम गर्न प्रेरणा मिलेको बताए।
निगमले अहिले अन्तर्राष्ट्रियतर्फ चार वटा जहाजबाट दिल्ली, मुम्बई, बैंगलोर, दुबई, दोहा, दमाम, बैंकक, हङकङ, मलेसिया, जापान लगायत दश गन्तव्यमा उडान गरिरहेको छ।
त्यसैगरी आन्तरिकतर्फ दुईवटा ट्विनअटर जहाजबाट ताप्लेजुङ, इलाम, भोजपुर, फाप्लु, थाम खर्क, खानिडाँडा, रूकुम, नेपालगञ्ज, हुम्ला, जुम्ला, डोल्पा, बाजुरा, दाङ, रेसुंगा लगायत १५ गन्तव्यमा उडान गरिरहेको छ।
दसैंतिहार जस्ता चाडपर्वमा यात्रुको चाप र आवश्यकतालाई मध्यनजर गर्दै निगमले एउटा जहाज नेपालगञ्जमा राखेर त्यहाँबाट रूकुम, हुम्ला, जुम्ला, डोल्पा, बाजुरा जस्ता दुर्गम क्षेत्रका यात्रुलाई सेवा दिइरहेको निगमका प्रवक्ता रमेश पौडेलले बताए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 