काठमाडौँ- स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपालका अध्यक्ष गणेश कार्कीले नेपालमा जलविद्युत् तथा नविकरणीय ऊर्जाको क्षेत्रमा लगानी बढाउन बेलायती लगानीकर्तालाई आग्रह गरेका छन्।
नेपालको जलविद्युत्लगायत नविकरणीय ऊर्जाको क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यसहित लण्डनस्थित नेपाली दूतावासले आयोजना गरेको उच्चस्तरीय लगानी सम्मेलनलाई सम्बोधन गर्दै कार्कीले उक्त कुरा बताएका हुन्।
सम्मेलनमा नेपालको ऊर्जा क्षेत्रमा लगानीका अवसरका बारेमा जानकारी दिँदै कार्कीले सरकारको भूमिका सकारात्मक रहेकाले नेपालमा लगानी गर्न विदेशी लगानीकर्ताहरुलाई आह्वान गरे।
त्यसैगरी ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीप देवले नेपालको ऊर्जा क्षेत्र विशेष गरी कार्यान्वयनमा रहेका जलविद्युत परियोजनाहरूमा लगानीको ठूलो अवसर भएको बताए।
भारत तथा चीनसँग विद्युत् विकास तथा खरीदका लागि भएका सम्झौता एवं जलविद्युत् विकासका लागि नेपाल सरकारको आगामी योजनाको बारेमा उल्लेख गर्दै देवले यसका लागि ठूलो पूँजीको आवश्यकता र अवसर रहेको बताएका थिए।

                                             
                                             
                                             
                                             
                                             
                                             

