काठमाडौँ- कांग्रेस सांसद डा. चन्द्र भण्डारीले निकै दुःख गरेर ल्याएको संविधान कार्यान्वयन गर्न नसकिएको स्वीकार गरेका छन्। तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा भएको तिलोत्तमाको मणिग्राममा तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम पर्यटन प्रवर्द्धन महोत्सव २०८० को उद्घाटन गर्दै भण्डारीले जनताको पहुँच पुर्याउन बनाएको संयन्त्रले धान्न सक्छ वा सक्दैन त्यसमा ध्यान पुर्याउन नसक्दा संविधान कार्यान्वयनमा समस्या आइरहेको बताए।
उनले राष्ट्रिय कोष र करले अहिलेको अवस्था धान्न नसकेको बताउँदै अहिलेको अवस्थाले कर्मचारी तन्त्र, सुरक्षा निकाय, तीन तहका जनप्रतिनिधिलाई तलब खुवाउन नसकिने देखिएको बताए।
सबल अर्थतन्त्रको आधार, कृषि, एवम पर्यटन, उद्योग र व्यापार भन्ने मुल नाराका साथ मंसिर १२ गतेसम्म संचालन हुने मेलाको उद्घाटन गर्दै भण्डारीले देशको यही अवस्थाका कारणले नेपाली विदेशिने क्रम बढेको बताए। उनले यसलाईरोक्न आवश्यक रहेको बताए। भण्डारीले दुःख पर्दा सरकार बोल्नुपर्ने भन्दै दुःख पर्दा नबोल्ने सरकार आवश्यक नरहेको टिप्पणी गरे।





