‘दिमाग खराब’ को प्रदर्शन निरन्तर

हिमाल प्रेस १ मंसिर २०८० १२:५५ | Friday, November 17, 2023
‘दिमाग खराब’ को प्रदर्शन निरन्तर

काठमाडौँ– फिल्म ‘दिमाग खराब’ काे प्रदर्शन नरोकिने भएको छ। फिल्म निर्माण कम्पनी सिनेमा आर्ट्स र नेपाल चलचित्र संघबीचको सो बढाउँने सहमतिसहितको छलफलले यस्तो निर्णय गरेको हो।

‘दिमाग खराब’ टिमले निर्माता र प्रदर्शनबीच सेयर बाँडफाँडको विषयमा पनि असन्तुष्टि जनाएको थियाे। यस विषयमा दुबै पक्ष मंगलबार पुनः बैठक बस्ने निर्णय भएको नेपाल चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

फिल्म गत शुक्रबार अर्थात् कात्तिक २४ गतेदेखि प्रदर्शन भएको हो। फिल्मले सुरुको समय राम्रो सो पाए पनि बलिउड फिल्म ‘टाइगर ३’ प्रदर्शन भएपछि सो कम गरिएको भन्दै निर्माण टिमले असन्तुष्टि जनाएको थियो।

सेयर बाँडफाँटमा पनि आपत्ति जनाउँदै फिल्म निर्माण कम्पनी सिनेमा आर्ट्सले प्रेस विज्ञप्ति जारी गर्दै सो नबढाए शुक्रबारबाट प्रदर्शन रोक्ने चेतावनी दिएका थिए। उनीहरूले नेपाली फिल्मलाई हलले प्राथमिकता नदिएको समेत आरोप लगाएका थिए।

जनता र शक्तिको कथामा बनेको फिल्मका निर्देशक निश्चल बस्नेत हुन्। फिल्ममा कलाकार खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, रमा थपलिया, दयाहाङ राई, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, नविन खड्कालगायतको अभिनय छ।

मनोज पण्डितको स्क्रिप्ट डाक्टर रहेको फिल्ममा आकाश बरालले पटकथा लेखेका छन्। फिल्मका निर्माता रौनक विक्रम कँडेल हुन्।

निमेष श्रेष्ठले सम्पादन र सुशन प्रजापतीले छायांकन गरेको फिल्म ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्ट्सकाे ब्यानरमा बनेको छ। सुरज बम ठकुरी कार्यकारी निर्माता रहेको फिल्म राजकुमार उप्रेतीले द्वन्द्व निर्देशन गरेका छन्। फिल्मको गीतमा जयन जे वाइबा र बाबुल गिरीको संगीत छ।

 

प्रकाशित: १ मंसिर २०८० १२:५५ | Friday, November 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast