ट्याक्सीमा छुटेको सुनचाँदीका गहना बुझाइयो

हिमाल प्रेस ३ मंसिर २०८० १४:५७ | Sunday, November 19, 2023
ट्याक्सीमा छुटेको सुनचाँदीका गहना बुझाइयो

काठमाडौँ- ट्राफिक प्रहरीले ट्याक्सीमा छुटेका सुनचाँदीका गहना खोजी गरेर आइतबार गहनाधनीलाई बुझाएको छ। शनिबार दिउँसो ट्याक्सीमा छुटेका सुनचाँदीका गरगहनासहितको झोला खोजी गरेर काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको खोजतलास शाखाका प्रहरी निरीक्षक विशाल सिंहले आज धनीलाई हस्तान्तरण गरेका हुन्।

जडिबुटीबाट जोरपाटी जम्मुडाँडासम्म जाने क्रममा बा २ ज ३४ ५३ नम्बरको ट्याक्सीमा करिब ७ तोला बराबरको सुन र ४ तोलाका चाँदीका गहना भएको झोला छुटेको भनी रामेछापकी सङ्गीता तामाङले ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा खबर गरेकी थिइन्।

प्राप्त खबर तथा लिखित निवेदनको आधारमा ट्राफिक प्रहरीले सिसिटिभी क्यामेराको सहायतामा खोजी गरिरहेको समयमा ट्याक्सी चालक रोशन वयलकोटी स्वयम् सुनका गहना सुरक्षित लिएर आज बिहान ट्राफिक प्रहरी वृत्त गौशालामा सम्पर्क गर्न आएका थिए।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको खोजतलास शाखाले सवारी साधनमा छुटेको धनमाल प्राप्त निवेदनका आधारमा खोजी गरेर धनीलाई बुझाउँदै आएको छ।

गत साउनदेखि हालसम्म १ सय ३३ जना व्यक्तिले दिएको निवेदनको आधारमा ९९ जनाको धनमाल खोजी गरी ४० लाख ६ हजार ६ सय २५ मूल्य बराबरको सामान सम्बन्धित धनीलाई बुझाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।

आफ्नो धनमालको सुरक्षा गर्न र सवारी साधनमा सामान छुटेमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न तथा नजिकैको प्रहरी कार्यालयमा लिखित निवेदन बुझाउन पनि प्रहरी वरिष्ठ उपरीक्षक भट्टले आग्रहसमेत गरेका छन्।

प्रकाशित: ३ मंसिर २०८० १४:५७ | Sunday, November 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast