जेलमा रहेकी नोबेल पुरस्कार विजेता मोहम्मदीले तोडिन् अनशन

हिमाल प्रेस २४ कार्तिक २०८० १८:५५ | Friday, November 10, 2023
जेलमा रहेकी नोबेल पुरस्कार विजेता मोहम्मदीले तोडिन् अनशन

पेरिस (रासस/एएफपी)- जेलमा रहेका इरानी नोबेल शान्ति पुरस्कार विजेता नार्गिस मोहम्मदीले अनशन तोडेकी छन्।

तेहरानको इभिन जेलमा रहेकी ५१ वर्षीया वरिष्ठ अधिकारकर्मी मोहम्मदीलाई ‘इरानमा महिला माथि भइरहेको उत्पीडनविरुद्धको लडाइँका लागि’ अक्टोबरमा नोबेल पुरस्कार प्रदान गरिएको थियो।

इरानमा अनिवार्य गरिएको तर अधिकारकर्मीद्वारा विरोध गरिएको हिजाब लगाउने शर्तलाई नमानिकन उनलाई उपचारका लागि अस्पतालमा भर्ना गराएपछि मोहम्मदीले अनशन तोडेको उनको पारिवारिक स्रोतले जनाएको छ।

बिहीबार उनको इन्स्टाग्राम अकाउन्टमा पोस्ट गरिएको एक सन्देशमा अधिकारकर्मीको परिवारले उनलाई बुधबार परीक्षाका लागि अस्पतालमा स्थानान्तरण गरिएको जनाएको छ। उनी मुटु र फोक्सोको समस्याबाट पीडित छन्। ‘अनिवार्य हिजाब नलगाई अस्पताल भर्ना भएपछि र महिला वार्डमा फर्केपछि मैले अनशन तोडेँ,’ उनले भनिन्।

मोहम्मदीको परिवारले सोमबार आफू र अन्य कैदीहरूको लागि चिकित्सा सेवाको सीमितता र इस्लामी गणतन्त्रमा महिलाहरूले सार्वजनिक रूपमा कपाल ढाक्नु पर्ने आवश्यकताको विरोधमा भोक हडताल सुरु गरेको बताएको छ।

मोहम्मदीलाई भेट्न अस्पताल पुगेका साथी र सहयोगीलाई इस्लामिक रिपब्लिक सेक्युरिटी फोर्सले धम्की दिएको र सताएको उनका समर्थकले बिहीबार बताएका छन्।

इरानमा सन् १९७९ को इस्लामिक क्रान्तिको केही समयपछि सार्वजनिक स्थलमा महिलाका लागि अनिवार्य गरिएको हिजाब लगाउन मोहम्मदीले इन्कार गर्दै आएकी छन्।

प्रकाशित: २४ कार्तिक २०८० १८:५५ | Friday, November 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast