जिप दुर्घटनामा परी गम्भीर घाइते भएका दुईको मृत्यु

हिमाल प्रेस ४ मंसिर २०८० १२:५५ | Monday, November 20, 2023
जिप दुर्घटनामा परी गम्भीर घाइते भएका दुईको मृत्यु

रुकुमपश्चिम- रुकुमपश्चिममा जिप दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ। मृत्युहुनेमा चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका–२ का सात वर्षीय बालक प्रतिक बुढा छन्।

बालक बुढाको उपचारका लागि एम्बुलेन्समार्फत सुर्खेत लैजाँदै गर्दा सल्यान जिल्लाको नेटा भन्ने ठाउँमा र ओलीको चौरजहरी अस्पतालमै मृत्यु भएको चौरजहारी नगरपालिकाका नगरप्रमुख पुष्प वादीले जानकारी दिए।

उनका अनुसार अन्य पाँच जनाको पनि अवस्था गम्भीर रहेकाले गृहमन्त्रालयमा समन्वय गरेर काठमाडौँबाट हेलिकप्टर आउन लागेको र सोही हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको नगर प्रमुख वादीले जानकारी दिए।

आज बिहान चौरजहारी नगरपालिकाबाट जिल्ला सदुरमुकाम खलंगा आउने क्रममा चौरजहारी-८ गैरीजिउलामा लु१ज २२९७ नम्बरको जिप दुर्घनामा परेको थियो। जिपमा सवार चालकसहित २२ जना घाइते भएका थिए।

जीप मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने गैरीजिउला सडकखण्डबाट भेरी नदीमा खसेको थियो । घाइतेको चौरजहारी मिसन अस्पतालमा उपचार भइरहेको छ। जिपमा क्षमताभन्दा बढी सवारी चढाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीले आँकलन गरेको छ।

यसबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए।

प्रकाशित: ४ मंसिर २०८० १२:५५ | Monday, November 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast