अपराध

कार्यालय खोलेर ठग्ने गिरोह नियन्त्रणमा, साथमा भेटियो ४६ लाख भारतीय रुपैयाँ

हिमाल प्रेस ७ मंसिर २०८० ८:०२ | Thursday, November 23, 2023
कार्यालय खोलेर ठग्ने गिरोह नियन्त्रणमा, साथमा भेटियो ४६ लाख भारतीय रुपैयाँ

धनगढी- सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाट अनलाइनबाट ठगी गरेको आरोपमा ९ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार साँझ सुदूरपश्चिम प्रदेश प्रहरी अन्तरगत प्रदेश प्रहरी अनुसन्धान समूह (आरआइटी)का प्रहरी सहायक निरीक्षक अनिल विष्ट र दिपेन्द्र किमाडी र जिल्ला प्रहरी कार्यालय कैलालीसहितको टोलीले सो गिरोहलाई पक्राउ गरेको हो।

कैलालीको धनगढी उपमहानगरपालिका– ५ तारानगरमा कञ्चनपुरको बेल्डाडी गाउँपालिका-२ बस्ने ३० वर्षीय विशाल सुनारले अवैध रूपमा सञ्चालन गरेको आईटी सेन्टरबाट सुनारसहित ८ जनालाई पक्राउ गरिएको जिप्रका कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले जानकारी दिए।

उनका अनुसार पक्राउ पर्नेमा भारतको दिल्ली पालंगा बस्ने ३२ वर्षका अमित कुमार , भारतको उत्तमनगर दिल्ली बस्ने २६ को कुनाल शर्मा, भारतकै करोलबाग दिल्ली बस्ने २४ वर्षीय निखिल कुमार रहेका छन्।

यस्तै भारतको दिल्ली बस्ने १९ वर्षीय प्रियंसु टापु, डोटीको शिखर नगरपालिका-१० का २१ वर्षीय प्रसान्त बलायर,कञ्चनपुरको पुर्नवास नगरपालिका-६ बस्ने २९ वर्षीय मिनबहादुर सुनार, बेलडाडी गाउँपालिका २ बस्ने ३० को विशाल सुनार, २८ को कमल सुनार , र २२ वर्षीय जयराम सुनार रहेको डीएसपी चन्दले बताए।

उनीहरूले अवैध रूपमा आईटी सेन्टर सञ्चालन गरी विभिन्न बहानामा मोनी लाउण्डरिङ्, बिमा दुर्घटना लगायत विषयमा प्रलोभनमा पारी पोल्याण्ड लगायतका नागरिकलाई अनलाईनमार्फत ठगी गर्ने गरेको प्रहरीले जनाएको छ।

यस्तै यो ठगी धन्दाका मुख्य नाइके बेल्डाडीका सुनारको घरमा प्रहरीले छापा हानेकोमा ४६ लाख ९१ हजार ६८० रुपैयाँ पनि बरामद भएको बुझिएको छ। बरामद गरिएका सबै नोट भारतीय रहेको र पक्राउ परेका सबैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रदेश प्रहरी अन्तरगत हालको आरआइटी टोलीले गरेको यो सबैभन्दा ठूलो अपरेसन मानिएको छ। प्रहरी सहायक निरीक्षकद्वय बिष्ट र किमाडीको कमाण्डमा केही दिन अघिदेखि मात्र आरआइटीले यसमा अनुसन्धान थालेको थियो।

प्रकाशित: ७ मंसिर २०८० ८:०२ | Thursday, November 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast