कात्तिकमा वैदेशिक रोजगारीमा जाने आधा घटे

हिमाल प्रेस ८ मंसिर २०८० १४:०३ | Friday, November 24, 2023
कात्तिकमा वैदेशिक रोजगारीमा जाने आधा घटे फाइल तस्बिर।

काठमाडौँ- कात्तिक महिनामा वैदेशिक रोजगारमा जाने कामदारको संख्या असोज महिनाभन्दा करिब आधाले गिरावट आएको वैदेशिक रोजगार विभागले जनाएको छ। असोजमाभन्दा कात्तिक महिनामा म्यानपावर कम्पनीमार्फत करिब ९ हजार र नवीकरण तथा वैदेशिक रोजगारका लागि दिइने सबै प्रकारका श्रम स्वीकृतिमार्फत जाने कामदारको संख्या १३ हजारले घटेको विभागले जनाएको छ।

कत्तिकमा म्यानपावर कम्पनीमार्फत १८ हजार १ सय २५ जनाको श्रम स्वीकृति जारी भएको विभागको तथ्यांकमा छ।  व्यक्तिगत र अन्तिम श्रम स्वीकृति लिएर कात्तिकमा ४३ हजार ६ सय २२ जना कामदार विदेशीएका छन्। गत असोज महिनामा करिब ७५ हजार कामदार वैदेशिक रोजगारीमा विभिन्न देश गएको विभागको तथ्यांकमा छ।

कात्तिक महिनामा नेपालीका मुख्य चाडपर्व दशैँ, तिहार र छठजस्ता पर्व परेकाले विदेशीनेको संख्यामा गिरावट आएको विभागका महानिर्देशक मदन दाहालले जानकारी दिए। कात्तिक महिनामा सबैभन्दा बढी कामदार रोजगारीका लागि यूएई गएको विभागको मासिक प्रतिवेदनमा उल्लेख छ। कात्तिकमा मलेसिया धेरै कामदार गएको मुलुकको सूचीको दोस्रो नम्बरमा छ।

कात्तिक महिनामा यूएई जान ५ हजार ८ सय ६६ जनाले म्यानपावर कम्पनीमार्फत श्रम स्वीकृति लिएका छन्। समग्रमा कात्तिकमा १२ हजार ४ सय ८५ जना यूएई गएका छन्। त्यसमा महिला कामदारको संख्या ३ हजार २ सय ६८ रहेको छ।

कात्तिकमा ३ हजार ९ सय ७९ जना मलेसिया गएका छन्। साउदी अरेबिया तेस्रो स्थानमा रहेको छ। उक्त मुलुक जान ३ हजार ४ सय ८७ जना, सूचीको चौथो स्थानमा रहेको कतार जान २ हजार १ सय २७ जनाको संस्थागत श्रम स्वीकृति भएको छ।

यस्तै, खाडी मुलुक कुवेत पाँचौं स्थानमा छ। कात्तिकमा उक्त मुलुकका लागि म्यानपावर कम्पनीमार्फत १ हजार ३ सय ८७ जनाको श्रम स्वीकृति भएको छ। बहराइनका लागि १ सय ६५ जनाको श्रम स्वीकृति भएको छ।

युरोपेली मुलुक क्रोएसियाका लागि म्यानपावरमार्फत ७० जना र व्यक्तिगत १ हजार ४६ जना, साइप्रसका लागि म्यानपावरमार्फत २ सय ५५ जना, जापानका लागि संस्थागत ९२ र व्यक्तिगत ४ सय ८३ जना तथा जोर्डनका लागि १७ जनाको श्रम स्वीकृति जारी भएको विभागले जनाएको छ।

कात्तिकमा माल्टाका लागि म्यानपावर कम्पनीमार्फत १८ जना गएका छन्। मंसिरका लागि ३ सय २३ जना, रोमानियाका लागि म्यानपावरमार्फत १ सय ७९ जना, रुसका लागि २७ जना, ओमानका लागि ८० जना तथा मकाउका लागि ४७ जनाको श्रम स्वीकृति भएको छ।

प्रकाशित: ८ मंसिर २०८० १४:०३ | Friday, November 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast