कञ्चनपुरमा गहना लुट्न महिलाको हत्या, तीन सुन पसल सञ्चालकसहित ६ जना पक्राउ

पदमराज भट्ट ७ मंसिर २०८० १५:०८ | Thursday, November 23, 2023
कञ्चनपुरमा गहना लुट्न महिलाको हत्या, तीन सुन पसल सञ्चालकसहित ६ जना पक्राउ

धनगढी- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ शान्तिपुर बस्ने ६५ वर्षीया नारुदेवी जोशीको हत्यामा संलग्न व्यक्तिको पहिचान खुलेको छ। घर नजिकै रहेको जंगलमा घाँस काट्न गएकी जोशीको १९ कात्तिकमा हत्या भएको थियो। हत्यामा सोही ठाउँका महेश डगौरा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी कमल थापाले जानकारी दिए।

अनुसन्धान गर्दै जाँदा डगौराले नै जोशीको हत्या गरेको स्वीकार गरेको एसपी थापाले बताए। लागुऔषधका प्रयोगकर्तासमेत रहेका डगौरा यसअघि पनि आपराधिक क्रियाकलापमा संलग्न थिए। उनले १४ कात्तिकमा झलारीका महेश भट्टको साइकल समेत चोरेका थिए। उनी भारतीय नागरिकलाई लुटपाट गर्ने कार्यमा संलग्न थिए। एसपी थापाका अनुसार जोशी एक्लै घाँस काट्न जंगल जाने क्रममा उनले पिछा गरेका थिए।

घाँस काटिदिन्छु भन्दै जोशीलाई आश्वासन दिएर उनले गहना लुट्न घाँटी च्यापेर हत्या गरेको खुलेको छ। जोशीको हत्यापछि लुटपाट गरेको सुन बिक्रीका लागि महेश कैलालीको धनगढी गएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

‘हत्या गरेकै दिन महेशले बोराडाँडी भाटभटेनी नजिक एलएक्स क्लबका सञ्चालक कैलाली गाँउका लक्ष्मण चौधरीको डेरामा गएर सुन बिक्रीका लागि छलफल गरेको देखिन्छ,’ एसपी थापाले भने, ‘तीन थान गहना तीन पसलमा बेचेको देखियो।’

एसपी थापाका अनुसार सुन बेचबिखनमा संलग्न भएका लक्ष्मण चौधरीले धनगढीस्थित इन्द्र बरालले सञ्चालन गरेको न्यु बर्दादेवी सुनचाँदी पसल, खगेन्द्र बहादुर सोबले सञ्चालन गरेको दिया सुनचाँदी पसल र दिपेन्द्र सिजापतीले सञ्चालन गरेको सुजल सुनचाँदी पसलमा बिक्री गरेको खुलेको बताए।

जोशीको हत्यामा संलग्न महेश डगौरा, सुन बेच्न जाने लक्ष्मण चौधरी, निरज भट्ट र सुन किन्ने इन्द्रबहादुर बराल, खगेन्द्र सोब र दिपेन्द्र सिजापतीलाई बिहीबार कञ्चनपुर प्रहरीले सार्वजनिक गरेको छ।

सुनचाँदी पसलधनीले प्रहरीसँगको बयानमा लक्ष्मण चौधरी र निरज भट्टले आफूसँग श्रीमती बिरामी भएकाले इमरर्जेन्सिमा सुन किन्न आग्रह गरेपछि किनिदिएको बताएका छन्। कञ्चनपुरका प्रहरी प्रमुख एसपी थापाले पाँच जनाविरुद्ध फरकफरक मुद्दा चल्ने बताए।

महेश २० कात्तिकमै धनगढीदेखि नेपालगन्ज हुँदै मुम्बइबाट बेङ्ग्लोर भागेका थिए। प्रहरीले विभिन्न व्यक्तिसँग समन्वय गरेर भारतमा भागेका महेशलाई बोलाएर मंसिर १ गते पक्राउ गरेको थियो।

प्रकाशित: ७ मंसिर २०८० १५:०८ | Thursday, November 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast