सांकेतिक तस्बिर।
                                            पोखरा- बैंकको एटीएम तोडफोड गर्दै गरेको अवस्थामा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको विहार प्रदेश मोतीहारी जिल्ला फेनरा पञ्चायत ग्राम घर भई हाल पोखराको नयाँबजारमा सैलुन पसल सञ्चालन गर्ने २० वर्षीय बवि ठाकुर हुन्।
उनले मंगलबार राति पौने १ बजे पोखराको सभागृहचोकस्थित नबिल बैंकको एटीएम मेसिन फोडेर पैसा निकाल्ने प्रयास गरेका थिए। एटीएम मेसिनको ढोका लक फोडेरभित्र पसी मेसिन समेत तोडफोड गर्दै गरेको अवस्थामा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले फलामको रड, पेचकस, कपाल काट्ने कैंची सहित उनलाई नियन्त्रणमा लिएको हो।
उनलाई चोरी उद्योग मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकले जानकारी दिए।

                                             
                                             
                                             
                                             
                                             
                                             

