एचआईभी संक्रमित स्वाभलम्बी बन्‍ने प्रयासमा

हिमाल प्रेस ७ मंसिर २०८० १०:०१ | Thursday, November 23, 2023
एचआईभी संक्रमित स्वाभलम्बी बन्‍ने प्रयासमा

चितवन- समाजमा एचआईभी संक्रमितलाई हेर्ने दृष्टिकोणमा अझै परिवर्तन आउन सकेको छैन। त्यसैले संक्रमित खुल्न सकेका छैनन्। परिवार र समाजले हेला गरेपछि संक्रमित किशोरकिशोरी आफ्नै खुट्टामा उभिनका लागि विभिन्न उपाय खोज्न थालेका छन्।

माडी नगरपालिका घर भएकी २० वर्षीया अम्बिका सुनार (नाम परिवर्तीत) घरमा हेला भएपछि चार वर्षदेखि दिदीको घरमा बस्दै आएकी छन्। आमाको निधनपछि उनका बुबाले अर्की श्रीमती भित्र्याएदेखि नै सुनारलाई हेला गर्न थालिएको हो।

आफू ११ वर्षको हुँदा एचआईभी संक्रमण पुष्टि भएको उनी बताउँछिन्। सौतेनी आमाको व्यवहारका कारण कक्षा ८ सम्म अध्ययन गरेर पढाइ छोडेकी सुनार अहिले आफ्नै खुट्टामा उभिन सीपमूलक तालिममा छिन्।

भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउण्डेसनको सक्रियतामा सुनारले सिलाइकटाइको तालिमसमेत लिएकी छन्। सुरुआतमा गाउँमा नै हुँदा दिदीकोमा गएर सिलाइकटाइको काम सामान्यरुपमा गर्ने गरेको भए पनि अहिले त्यही पेसालाई अपनाउन खोजेको उनले बताइन्। सुनारले भनिन्, ‘संक्रमित भनेर हेला गर्छन्। त्यसैले केही गरेर देखाउने इच्छा छ।’

फाउन्डेसनको सहयोगमा तीन महिने तालिम केही दिन अघि मात्रै सम्पन्न गरेकी सुनार अब दिदीकै घरमा आफ्नै व्यवसाय गरेर बस्ने योजनामा छन्। उनको स्वरोजगरका लागि संस्थाले कपडा सिलाउने मेसिनको व्यवस्था गर्दैछ। समाज परिवर्तन गर्दै अघि बढ्नुपर्ने समय आएको उनले सुनाए।

फाउन्डेसनको सहयोगमा १२ वर्षदेखि २० वर्ष उमेरका संक्रमित ३० किशोरकिशोरीले सीपमूलक तालिम लिएका छन्। फाउन्डेसनमा हाल नियमित औषधि सेवन गर्ने संक्रमित एक हजार एक सय ५८ रहेका छन्।

उनीहरूमध्ये ३८ बालबालिका रहेका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले जानकारी दिए।

प्रकाशित: ७ मंसिर २०८० १०:०१ | Thursday, November 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast