आगलागी हुँदा २५ लाख रुपैयाँ बढीको क्षति

हिमाल प्रेस २७ कार्तिक २०८० ७:२७ | Monday, November 13, 2023
आगलागी हुँदा २५ लाख रुपैयाँ बढीको क्षति

खोटाङ- हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित बुँलागैरीका भीमबहादुर कटवालको घरमा विद्युत् चुहावट भएर आगलागी हुँदा २५ लाख भन्दा बढीको क्षति भएको छ।

घरमा जडान गरिएको विद्युत्‌को मिटरबक्सबाट सल्किएको आगोले उहाँको जस्तापाताको छाना भएको तीनतले घर, घरमा भएको नगद दुई लाख रुपैयाँ, साढे चार तोला सुन, पाँच तोला चाँदी, नागरिकता, जग्गाधनीपुर्जा, भाँडाकुँडा, अन्नपात, लत्ताकपडा, काठपातलगायतका सामग्री जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

आगलागीलाई स्थानीय बासिन्दा र प्रहरीले करिब दुई घण्टापछि नियन्त्रणमा लिएका थिए। आगलागीका कारण सातजनाको कटवाल परिवार विचल्लीमा परेका छन्। धितुङस्थित बुँलागैरीका अधिकांश स्थानीय बासिन्दाले घर एकअर्काको नजिक बनाएकाले आगलागीको समयमा जोखिम हुने गरेको छ।

धितुङमा गत वर्ष एकापसमा जोडिएका घरमध्ये एउटामा सल्किएको आगोले जलेर पूर्णरुपमा नष्ट भएको थियो भने आठ वर्षअघि एउटा घरबाट सुरु भएको आगोले छवटा घर जलेर नष्ट भएको थियो।

सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाको धितुङलगायत अधिकांश वडा आगलागीको उच्च जोखिममा छन्।

प्रकाशित: २७ कार्तिक २०८० ७:२७ | Monday, November 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast